सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सपथ लिने नवनियुक्त मन्त्रीहरु को–को हुन त ?

सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार त्यसको भोलिपल्ट शपथ गराइएको हो । शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको काम गर्न बाटो खुलेको छ ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् । नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Minister sapath
राष्ट्रपती कार्यालयमा सपथ लिँदै नवनियुक्त मन्त्रिहरु

त्यस्तै भुसाललाई कृषि मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।

प्रधानमन्त्री केपी ओलीले ८ मन्त्रीलाइ बर्खास्ती गरेका छन् । मन्त्री पद गुमाउनेहरूमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा छन् ।

पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ । त्यस्तै पूर्वमाओवादी कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्