सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मृत्युदण्ड सुनाइएका पुर्वराष्ट्रपतीका पक्षमा पाकिस्तानी सेना

पुर्वराष्ट्रपती तथा पुर्वसेनापती परवेज मुशर्रफलाई मृत्युदण्ड दिने पाकिस्तानी अदालतको निर्णयप्रति आपत्ति जनाउँदै पाकिस्तानको सेना उनको पक्षमा उभिएको छ ।

मंगलबार इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै पुर्वराष्ट्रपती परवेज मुशर्रफलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो ।

मुख्य न्यायाधीशसहित तीन सदस्यीय इजलासले बहुमतको आधारमा उक्त निर्णय सुनाएको थियो । पाकिस्तानी सेनाले अदालतको उक्त फैसला प्रति दुःख व्यक्त गरेको छ ।

सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले विज्ञप्ति जारी गर्दै भनेका छन्–‘जनरल परवेज मुशर्रफविरुद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको छ ।’ पूर्वराष्ट्रपति समेत रहेका जनरल मुशर्रफले ४० वर्ष देशको सेवा गरेको र उनीविरुद्धको फैसलाले संविधानको उपेक्षा गरेको सेनाको भनाइ छ ।

Pervez Musharraf

प्रवक्ता गफूरले भनेका छन्–‘जुन व्यक्तिले देशको रक्षाको लडाइँ लड्यो त्यो कहिल्यै देशद्रोही हुन सक्दैन । अदालतमा आफ्नो बचाउन गर्ने अवसर पनि दिइएन जुनकि आधारभूत अधिकार हो । ठोस सुनुवाई नगरेरै हतारमा फैसला सुनाइयो ।’

पाकिस्तानको इतिहासमा कुनै पनि पूर्वसेना प्रमुखलाई देशद्रोहमा दोषी ठर्हयाइएको यो पहिलो पटक हो । मुद्दा चल्दाचल्दै सन् २०१६ मार्च महिनामा यूएईको दुबई गएका उनको त्यहीँ उपचार भइरहेको छ ।

उनको समूहले फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ । सर्वोच्च अदालतले पनि यो फैसला सदर गरेमा राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै मृत्युदण्डको सजाय माफ गर्न सक्छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्