सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कहाँ गए काठमाण्डौ आएका ४१ हजार चिनियाँ ?

कहिले सुन त कहिले लागूऔषध वा मानव तस्करीको आरोपमा बेलाबेला चिनियाँ नागरिक पक्राउ नपरेका होइनन् । दोषी प्रमाणित भएका जेल जान्थे, निर्दोष सावित भएर छुटेकाहरु आफ्नो देश फर्किन्थे ।

तर भदौ दोस्रो साता नेपाली बैंकहरुको एटीएम कार्ड प्रयोग गरेर डेढ करोडभन्दा बढी रकम चोरिएपछि नेपाली सुरक्षा निकायलाई झट्का दियो । किनकी संगठित रुपमा भएको साइबर हमलामा चिनियाँ नागरिक संलग्नता पहिलो पटक थियो ।

त्यसबेला एक अभियुक्त हेलिकप्टर चार्टर गरेर भाग्न खोज्नुले पनि चिनियाँ नागरिकको समूह कति योजनाबद्ध रुपमा परिचालित भएको थियो भन्ने देखाउँछ । त्यसपछि प्रहरीले चिनियाँ नागरिकका शंकास्पद गतिविधिमाथि निगरानी बढायो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले पनि यो स्वीकार गरेका छन् ।

त्यसक्रममा बुढानीलकण्ठका विभिन्न क्षेत्रमा सिंगो घर नै भाडामा लिएर बस्ने गरेको सूचना प्रहरीले पायो । प्रहरी स्रोतकाअनुसार चिनियाँ नागरिकहरु अस्वाभाविक मूल्य तिरेर घर भाडामा लिन्थे र अत्याधुनिक कम्प्युटर र विद्युतीय उपकरण राखेर काम गर्थे ।

‘त्यही सूचनाका आधारमा के रहेछ भनेर सादा पोशाकमा निगरानी गर्न टोली पठाएका थियौं’, नेपाल प्रहरीका एक उच्च अधिकृतले भने, ‘केही हप्ताको निगरानीपछि माथिल्लो तहमा पनि रिपोर्ट गरेका थियौं ।’

China Crime

प्रहरीले यसबारे गृहमन्त्री रामबहादुर थापा बादललाई पनि जानकारी गराएको थियो । तर असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण नजिक आएको भन्दै प्रहरीको अपरेसन रोकियो । त्यसबेला रोकिएको प्रहरी अपरेसन सोमबार गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी आयुक्तको कार्यालय मातहतका युनिटको संयुक्त कारबाहीमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट बरामद कम्प्युटर, मोबाइल र अन्य विद्युतीय सामग्रीलाई परीक्षण गर्ने काम सीआईबीले गरिरहेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुवेदी एकैदिन ठूलो संख्यामा राजधानीबाट विदेशी नागरिक समातिएको यो नै पहिलो घटना भएको बताउँछन् ।

अपराध महाशाखाका एसएसपी सहकुलबहादुर थापा पक्राउ परेका चिनियाँ नागरिकमाथि अनुसन्धान भइरहेको बताउँछन् । उनले भने, ‘सूचना, प्रविधि जोडिएको घटनामा संलग्नता हुनसक्छ । हामी बरामद सामग्रीको परीक्षण र पक्राउ परेका व्यक्तिको स्क्रीनिङ गरिरहेका छौं ।’

कुनै पनि कसूरमा संलग्नता नदेखिए पनि देशबाट निष्कासन गर्न सकिने अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् । अध्यागमन विभागका अधिकारीहरुका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरु भिसा सकिसकेपछि पनि अवैध रुपमा नेपालमा बस्ने क्रम पनि बढ्दो छ ।

विभागको रेकर्डअनुसार पछिल्लो तीन महिनाको अवधिमा ४० हजार ९ सय १६ जना चिनियाँ नागरिक नेपाल भित्रिएका छन् । नोभेम्बरमा १५ हजार ३ सय ७ जना, अक्टोबरमा १३ हजार ३ सय २३ र सेप्टेम्बरमा १२ हजार २ सय ८६ जना विभिन्न प्रकारको भिसामा नेपाल आएको देखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्