सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रामकृष्ण ढकालले किन भने डिभोर्स भएको छैन ?

नेपाली सुगम संगितका नायक मानिने बहुचर्चित गायक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेदको समाचारले यतिबेला सामाजिक सञ्जाल र मिडिया तताएको छ । बुधबार काठमाण्डौ जिल्ला अदालतमा गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालले सम्बन्ध बिच्छेद गरेको समाचार बाहिरिएपछी चौतर्फी चर्चा र परिचर्चा सुरु भएको थियो ।

गायक रामकृष्ण ढकालको बैबाहिक जिवनमा पुर्णविराम लागेको भन्ने समाचार बाहिरिएपछी खासगरी उनकी श्रीमती निलम शाह ढकालको सामाजिक सञ्जालमा व्यापक रुपमा आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ढकालकी श्रीमती निलमले शाह ढकालले दुख पर्दा श्रीमानको साथ छाडेको भनेर उनको आलोचना गरेका हुन् ।

Ramkrishna Dhakal and Nilam Dhakal

पछिल्लो समय ढकाल दम्पती लालीगुराँस सहकारीको ऋणका कारण विवाद र तनावमा रहँदै आएका थिए । सामाजिक सञ्जालमा रामकृष्ण ढकालको सफलता देखेर बिहे गरेकी निलम शाहले ढकाललाई ऋण लागेको बेला साथ छोडेर स्वार्थी भएको प्रमाणीत गरिदिएको भनि व्यापक आलोचना गरिएको छ ।

यता गायक रामकृष्ण ढकालले भने श्रीमती निलम शाह ढकालको तारिफ गर्दै आफ्नो प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो श्रीमती भएको बताउँदै आफुहरुको सम्बन्धमा कुनै फाटो र समस्या नआएको बताएका छन् ।

ढकालले सामाजिक सञ्जालमार्फत नै श्रीमतीसँग सम्बन्धबिच्छेद भएको विषयको खण्डन गर्दैै आफूहरुको सम्बन्धमा कुनै चिसो नआएको प्रस्ट्याएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँमा ढकाल दम्पतीको सम्बन्धबिच्छेदको मिलापत्र भएपनि उनले भने आफ्नो सम्बन्धबिच्छेद नभएको भन्दै खण्डन गरेका हुन् ।

Ramkrishna and Nilam

गायक ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘आज म जे छु त्यो सबै तपाइँ सम्पूर्ण दर्शक–श्रोताका कारण छु तर नेपाली गीत संगीत क्षेत्रमा मलाइ अनवरत रुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन् । हामी सँधैझैँ हाँसीखुशी परिवारमा संगै छौँ । हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन ।’

उनले व्यक्तिगत विषयमा टिकाटिप्पणी भएको प्रति आपत्ति जनाउँदै नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाई कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय भएको बताएका छन् ।

गायक ढकालले आफू र श्रीमती निलमलाई जोडेर आएको समाचारप्रति असहमति जनाउँदै भनेका छन्–‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन् ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् । त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु ।’

ढकालले भनेका छन्–‘मैले आफूले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ । कति गाएँ त्यो अंकमा गनेको पनि छैन । जीवनको यो लामो अन्तरालमा मैले कति दर्शक–श्रोता कमाएँ भन्ने कुराको कहिल्यै लेखाजोखा गरिनँ । तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिँजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शीर्ष समाचार बनाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन् भन्ने कुराको आभाष भएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्