सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्याप्टेन विजय लामाको नेतृत्वमा विमान चीनतर्फ

सरकारले चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई आज नेपाल वायुसेवा निगमको ३३० वाइडबडी मार्फत स्वदेश ल्याउँदै छ । हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज शनिबार अपरान्ह चीन उडिसकेको छ ।

शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो । कोरोना भाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । निगमका प्रवक्ता अर्चना खड्काले बजारमा हल्ला छाएजस्तो निगमका पाइलट चीन जान मानेनन् भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै जहाजका सबै कर्मचारी इमान्दारीपूर्वक सेवामा खटिने बताएकी छिन् ।

पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले पनि सरकारले गरेको निर्णयमा राष्ट्रसेवक कर्मचारीले पनि इमान्दारितापूर्वक भूमिका निर्वाह गर्नुपर्ने दायित्व भएको उल्लेख गरेका छन् ।

Nepal Airlines

बुहान जाने टोलीमा तीन विमान चालक, ६ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने जनाइएको छ ।

चालक विजय लामाको नेतृत्वमा जहाज चीनको बुहानतर्फ गएको हो । हुवेई प्रान्तको विभिन्न शहरमा रहेका नेपाली विद्यार्थीलाई वुहानमा भेला गरिनेछ । चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ ।

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् । चीनको हुवेइ प्रान्तको वुहान लगायत शहरबाट १८० नेपालीले स्वदेश फर्कनका लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक कोरोना भाइरस पत्ता लागेको थियो ।

अहिले चीनको २२ प्रान्त तथा विश्वका २३ मुलुकमा कोरोना भाइरस फैलिसकेको बताइन्छ । चीनबाट ल्याइएका नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ ।

अहिले चीनबाट नेपाल आउन लागेका नेपालीहरु बुहानस्थित विमानस्थलमा चेकजाँच गरिरहेका छन् । नेपाल फर्कन लागेका उनीहरुले विमानस्थलबाट लाईभ भिडियो र फोटोहरु हालिरहेका छन् । स्वदेश फर्कन लागेका नेपालीहरु प्रायले खुशि व्यक्त गरेका छन् । नेपाल आउने टोलिमा १ जना होन्डुरसकी महिला पनि रहेकी छिन् ।

सरकारले उक्त भाइरस संक्रमण भएकाहरुको लागि तीन अस्पतालमा ४३ शैयाको आइसुलेशन सुविधासहितको छुट्टै विभाग व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेस्क’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्