बाग्मती नदीमा शिवरात्रि अघिबाट सफा पानी
शिवरात्रिको अघिल्लो दिनबाट गुहेश्वरीस्थित प्रशोधन केन्द्रबाट प्रशोधित भएको पानी बागमतीमा बगाइने भएको छ । प्रशोधित पानी बाग्मतीमा मिसाइएपछी बाग्मती नदीको पानी अहिलेको जस्तो फोहोर हुनेछैन् । अर्थात हालको भन्दा पानी सफा देख्न पाइनेछ ।
प्रशोधित सफा पानी बगाउनेगरी सबै तयारी पूरा भएको जानकारी दिँदै काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियर किशोर पन्थीले भने–‘हामीले शिवरात्रि अगाडि नै पानी बागमतीमा छाड्ने भनेका थियौं, त्यही अनुसार बिहीबारदेखि प्रशोधन गरिएको पानी छाड्छौं ।’
प्रशोधित पानी एउटा टनेलबाट सिधै तिलगंगामा र अर्को गुहेश्वरी क्षेत्रको भागमा खसालिने छ । पन्थीले बिहीबारदेखि पशुपति क्षेत्रबाट गुहेश्वरीसम्मको नदीको भागमा पानीको शुद्धतामा फरकपन आउने दाबी गरेका छन् ।
‘पशुपति क्षेत्रको भागलाई पनि अलि सफा गर्न पाएको भए अझ राम्रो हुन्थ्यो । तर शिवरात्रि अगाडि नै काम सक्ने भनेपछि सबै कुरा हतारमा भयो,’ उनले भने ।
गुहेश्वरीमा १ करोड ६२ लाख लिटर क्षमताको दुईटा प्रशोधन केन्द्र छन् । दुबै केन्द्र सञ्चालनमा आएपछि नदीमा ३ सय ७५ लिटर प्रतिसेकेन्ड पानी बग्छ । यसको अर्थ नदीमा पानीको गहिराइ पैतालाभन्दा माथि र घुँडाभन्दा तल हुने उनले बताए ।
काठमाडौं उपत्यकाका ढलहरू सिधै नदीमा मिसिन नदिने र प्रशोधनपछि मात्र छोड्ने भनेर प्रशोधन केन्द्र निर्माण भइरहेको हो । गुहेश्वरी प्रशोधन केन्द्रले गोकर्णदेखि तल र गौशालादेखि माथिका क्षेत्रको ढल समेट्छ ।
प्रशोधन केन्द्र निर्माणको ठेक्का पाएको अष्ट्रियन कम्पनी ‘भिएटेक’ले २०७३ साउनबाट काम सुरू गरेको थियो । साढे दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्नेमा ढिलासुस्तीका कारण काम नसकिएपछि डेढ वर्ष म्याद थपिएको थियो ।
प्रशोधन केन्द्रको औपचारिक उद्घाटन कार्यक्रम भने सरेको छ । अब ग्यासबाट बिजुली र मल निकाल्ने प्रकृया पनि सुरु भएपछि उद्घाटन गरिने पन्थीले जानकारी दिए । गुहेश्वरीजस्तै भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी र धोबीघाटमा पनि प्रशोधन केन्द्र बनिरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्