सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

केही दिनमा किड्नी फेर्छु, ५ दिन अस्पतालः ओली

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै आफ्नो किड्नी ट्रान्सप्लान्ट गर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफु अस्पताल भर्ना हुने बताए ।

उनले भने, ‘केही दिनभित्रै किड्नी ट्रान्सप्लान्ट गर्न अस्पताल भर्ना हुँदैछु । ५ दिन अस्पताल बस्छु, छैटौं दिन अस्पतालबाट डिस्चार्ज हुन्छु र आफ्नो काममा लाग्छु ।’ प्रधानमन्त्री ओलीले बिरामी भएर खासै सक्रिय नभएको भन्ने आरोपको खण्डन गर्दै आफु १८ घण्टासम्म काममा खटिरहेको दाबी गरेका छन् ।

Kp Oli priminister of nepal

प्रधानमन्त्री ओलीले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रष्टाचार गरेको ठहर भएमा सजाय भोग्न तयार हुनुपर्ने बताउँदै कुनै अनाधिकृत व्यक्तिले अडियो बाहिर ल्याउँदैमा भ्रष्टाचार गरेको ठहर नहुने बताए । उनले भने–‘कुनै अनधिकृत व्यक्तिले अडियो बाहिर ल्यायो, भ्रष्टाचारको बात लाग्यो र उहाँले राजीनामा दिनुभयो । भ्रष्ट्राचार भएको प्रमाणित गर्ने आधार छैन ।’

उनले आफुमाथि समेत अख्तियारमा उजुरी हालेको प्रसंगमा व्यङ्ग्य गर्दै उनले त्यसलाई पत्रु भ्रष्ट उजुरीको संज्ञा दिए । प्रधानमन्त्री ओलीले प्रेस खरिद प्रकरणमा स्वीस प्रनिनिधिको नाम जोडिएको बताउँदै सरकारले स्वीससँग नभई फ्रान्स र जर्मनीसँग छलफल प्रक्रिया अघि बढाइरहेको भन्दै बास्कोटाको बचाउ गरेका छन् ।

अर्को एक प्रसंगमा ओलीले आफुलाई केक प्रकरणमा जोडेर निराधार हल्ला चलाइएको आरोप लगाएका छन् । आफु गृह जिल्ला जाँदा विकासका कार्यक्रम उद्घाटन गर्न गएको बताउँदै जनताले स्वतस्फूर्त रुपमा उत्साहित हुँदै केक ल्याएर जन्मोत्सव मनाएको बताएका छन् ।

उनले भने, ‘म धारा, सडक, बिजुली उद्घाटन गर्न त्यहाँ गएको थिएँ । जनता उत्साहित भए, केक ल्याइदिए, मैले छोइदिए । कतिवटा केक ल्याए त्यो पनि मलाई थाहा छैन । तर राजधानीमा पत्रकार रोए ।’

प्रधानमन्त्री ओलीले भारतले गरेको नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्नेले केकमा राष्ट्रवाद देखेको भन्दै कांग्रेसलाई व्यंग्य गरेका छन् । मोदी, ओबामाको केक बनाएको हेर्न आग्रह गर्दै उनले भनेका छन्–‘हिजो नाकाबन्दी भएको बेला चुप बस्ने, नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्