टेकुबाट भागेका कोरोना आशंकीत व्यक्ति विराटनगरमा
कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेर विराटनगर पुगेका छन् । प्रहरी स्रोतका अनुसार उनले बोक्दै आएको मोबाइल ट्रयाक गर्दा विराटनगर पुगेको खुलेको हो ।
उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको बताइएको छ । सुनसरीको इटहरी घर भएका उनी गएराति साढे १० बजेतिर अस्पतालबाट भागेको अस्पताल श्रोतले जानकारी दिएको छ ।
उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए । चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको प्रहरीले जानकारी दिएको छ ।
अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी तीव्र पारिएको थियो । सम्भावित ठाउँमा उनलाई खोजी गर्दा फेला नपरेपछि प्रहरीले मोबाइल ट्रयाक गरेर उनको लोकेसन पत्ता लगाएको हो ।
अस्पताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भएको छैन । केही पहिले सोही अस्पतालबाट एक साउदी अरबका नागरिक पनि फरार भएका थिए ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरको त्रासका कारण औपचारिक कार्यक्रम समेत धमाधम स्थगित गर्न थालिएको छ ।
यो भाइरस नेपालमा एक जनामा भएको पुष्टि भएपछि हालसम्म नयाँ संक्रमित भने फेला पर्न सकेका छैनन् । संक्रमित पनि पूर्ण रुपमा निको भइरहेको अस्पतालले स्पष्ट पारेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्