सिल्क एयर जर्बजस्ती ल्याण्डिङ, यात्रु सबै नेपाली
अष्ट्रेलियाबाट ९८ जना यात्रु बोकेर आएको सिल्क एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशन विपरीत अवतरण गरेको खुलासा भएको छ ।
अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क एयर बंगलादेशको आकाशमा आइपुग्दा एटीसीले कोरोनाको सम्भावित प्रकोपका कारण लिइएको पछिल्लो निर्णयबारे जानकारी गराउँदै जहाज फिर्ता हुन चालक दलका सदस्यलाई आग्रह गरेको थियो । तर इन्धन भर्नुपर्ने कारण देखाएर जहाज नेपालतर्फ आयो ।
त्यसको केही समयपछि ८ बजेर ३० मिनेटमा विमानस्थलमा अवतरण गर्यो । तेल भरेपछि जहाज फिर्ता हुन पुनः एटीसीले निर्देशन दियो । तर जहाजभित्रैबाट नेपाली यात्रुहरुले होहल्ला र नाराबाजी गरेपछि चालकले ‘यस्तो वातावरणमा म जहाज उडाउन सक्तिनँ’ भन्दै एटीसीलाई सन्देश पठाए ।
एटीसीले त्यसपछि जहाजमा कुन देशबाट कति नागरिक आएको भन्नेबारे नागरिक उड्ययन प्राधिकरणका अधिकारी र अध्यागमनसंग सल्लाह गर्यो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्य र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितको टोली विमानस्थल पुग्यो ।
आपत्तकालीन बैठक नै बसेर विमान भित्रका यात्रुबारे जानकारी लिएपछि त्यहाँ भएका सबै यात्रुलाई ओराल्ने निर्णय भएको स्रोतले बतायो । त्यसपछि कागजात र राहदानी प्रमाणीकरण गर्दा ९७ जना नेपाली र १ जना अस्ट्रेलियन नागरिक जहाजमा भएको भेटियो ।
नेदरल्याण्ड्सबाट आएका एकजना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाउने र अस्ट्रेलियन नागरिकलाई कोरोनामूक्त स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा होटलमै १४ दिन बस्ने गरी तथा बाँकी नेपालीलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी छाड्ने निर्णय भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्