२० करोडको ज्यान लिएको ब्ल्याक डेथको कहानी
१३ औं शताब्दिको मध्यतिर युरोपमा ठूलो विध्वंस मच्चियो । यो विध्वंस महामारीको रुपमा फैलिएर करोडौंको ज्यान लियो । कोरोनाभाइरसले महामारीको रुपमा विश्वव्यापी रुपमा विनास निम्त्याइरहेका बेला इतिहासमा लेखिएको यो भयानक त्रासदीबारे केही जानकारी लिऔं ।
त्यतिबेला रोग कसरी फैलियो ? यसबारे थुप्रैले आ–आफ्नो सिद्धान्त प्रस्तुत गरेका छन् । तीमध्ये एउटा सिद्धान्त अनुसार यो रोग जनावरबाट फैलिएको बताइएको छ । साथै, अर्को सिद्धान्तमा यो रोग मानिसबाट मानिसमा नै सरेको बताइन्छ । उक्त रोग सुरुमा चीन, इजिप्ट र इरान हँदै पश्चिमी देशमा फैलियो । उक्त महामारी निम्त्याउने ब्याक्टेरियाले संक्रमित व्यक्तिको महत्वपूर्ण अंगमा ठूलो क्षती पुर्याउने गर्दथ्यो ।
संक्रमित व्यक्तिको शरीरमा सुरुमा खटिरा आउँथ्यो जसबाट लगातार रगत र पिप बगिरहन्थ्यो । यसबाहेक उच्च ज्वरो आउने, झाडा–बान्ता लाग्ने र अत्यधिक पीडा हुने गर्दथ्यो । मानिसहरुले खोक्दा रगतसमेत आउँथ्यो । बिरामीको ५ देखि ७ दिनभित्र मृत्यु हुने गर्दथ्यो ।
यो महामारी सन् १३४७ को अक्टोबरमा युरोप पुगेको थियो । ‘ब्ल्याक सी’ हुँदै आएका १२ वटा जहाज सिसलीको बन्दरगाह मेसिनामा रोकिएका थिए । बन्दरगाहमा जम्मा भएका मानिस त्यतिबेला स्तब्ध भए जब जहाजका धेरैजसो जलसैनिक मृत अवस्थामा भेटिए । जो जिउँदो थिए ती पनि असाध्यै बिरामी थिए ।
उनीहरुको शरीरभरी काला खटिरा थिए जसबाट रगत र पिप बगिरहेको थियो । सिसलीको प्रशासनले जहाजलाई तुरुन्त बन्दरगाहबाट निस्कन आदेश दियो । तर त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो । रोग फैलिसकेको थियो जसले अर्को पाँच वर्षसम्म युरोपमा २ करोड बढीको ज्यान लियो । त्यतिबेला युरोपको जति जनसंख्या थियो त्यसको करिब एक तिहाई जनसंख्याको मृत्यु भएको थियो ।
यो रोगले युरोप, एसिया र उत्तर अफ्रिकाका अधिकतम २० करोडको ज्यान लिएको विकिपेडियाले बताएको छ । यो रोगपछि युरोपलाई आफ्नो पुरानो जनसंख्याको स्तरमा आउन २ सय वर्ष लागेको बताइन्छ ।
रोगका कारण मानिसहरुबीच एक अचम्मको त्रास पैदा भयो । रोगको सटिक कारण थाहा नहुँदा मानिसहरु अन्धविश्वासको पनि सहारा लिइरहेका थिए । त्यतिबेला उपचारका खासै साधन पनि उलपब्ध थिएनन् ।
अन्त्यमा त मानिसहरु आ–आफ्नो ज्यान बचाउन तिर लागे । डाक्टरले बिरामीलाई हेर्न छोडे । धर्मगुरुले अन्तिम संस्कार गर्न अस्विकार गरे । पसलेले आफ्नो पसल बन्द गरे । कति शहर छोडेर गाउँ पसे तरपनि बच्न सकेनन् ।
जब कुनै कुराको मानिसले कारण बुझ्न सक्दैन तब विभिन्न अड्कलबाजी सुरु हुन्छ । ब्ल्याक डेथबारे पनि मानिसहरुले विभिन्न टिका–टिप्पणी गर्न थाले । मानिसहरुले यो रोगलाई भगवानको कहर बताए । मानिसहरुले समाजमा व्यप्त कुरिति जस्तै लोभ, ईशनिन्दा, व्याभिचार र संसारप्रति अति मोहका कारण रोग फैलिएको पनि बताउन थाले ।
समाजमा यस्ता व्यक्तिका कारण नै रोग फैलिएको र उनीहरुलाई समाजबाट निकालिँदा वा उनीहरुको बली दिँदा रोग साम्य हुने सोच धेरैले राखे । जसका कारण सन् १३४८ देखि १३४९ बीच हज्जारौं यहूदीको हत्या गरियो । यहूदीबाहेक समाजका अन्य मानिसहरुले पनि यो अन्धविश्वासको शिकार हुनुपर्यो ।
कतिले त भगवानबाट क्षमा पाइने भन्दै आफैंलाई कोर्रा हान्थे । मानिसहरु समूहमा बसेर पनि आफैंलाई कोर्रा हान्थे । यी सबै भगवानसँग माफी माग्ने नाममा भइरहेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्