सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

म अपहरणमा परेको हल्ला फैलाईयो: यादव

समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले आफू अपहरणमा नपरेको प्रतिक्रिया दिएका छन् । उनले आफू नेकपाका दुईजना सांसदको साथमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भन्दै जनकपुरबाट काठमाडौं आएको पनि स्पष्ट पारेका छन् ।

उनले भने–‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुईजना सांसद महेश बस्नेत र किसान श्रेष्ठ एकाएक जानकारी नै नदिइकन जनकपुर आउनुभयो र मलाई उहाँहरुले तपाईंसँग प्रधानमन्त्रीज्युले भेट्न खोज्नु भएको छ, जाउँ भन्नुभयो म पनि सहजै ढंगले उहाँहरुसँग आउन तयार भएँ ।’

आफू अपहरणमा परेको भन्ने हल्ला गलत भएको पनि उनले बताए । उनीहरुसँग जनकपुरबाट काठमाडौं आउँदा आफूले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जानकारी समेत दिएको बताए ।

Surendra Yadav

उनले भने, ‘मेरो मोवाइल गाडीमै छुटेको कारणले अफ भयो, कसैसँग सम्पर्क नभएको कारण यस्तो लफडा भएको हो, उहाँहरुबाट त्यस्तो कुनै व्यवहार भएको छैन ।’

उनले आफूले प्रधानमन्त्री ओलीसँग नभेटेको पनि दावी गरे । आफू राति आएपछि होटलमा बसेको र बिहानै पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेको बताए ।

पार्टी फुटाउनका आफूले कसैसँग कुराकानी नगरेको र आश्वासन पनि नदिएको भन्दै उनले आफू एकीकृत पार्टीमै रहेको बताए । उनले समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएकोमा आफू खुशी रहेको पनि बताए । उनी अहिले डा.बाबुराम भट्टराईको निवासमा छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्