यसरी बच्यो समाजवादी पार्टी बिभाजन हुनबाट
पार्टी बिभाजनको व्यापक हल्लाकाबिच समाजवादी पार्टी अन्ततः विभाजन हुनबाट जोगिएको छ । सरकारले अध्यादेशमार्फत् दलबदल सम्बन्धी ऐन संशोधन गरेपछि संसद ४० प्रतिशत पुर्याएर समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले आफ्नो नेतृत्वमा पार्टी विभाजन गर्ने तयारी गरेकी थिइन् । तर उनले अन्तिम समयमा आएर छुट्टै पार्टी दर्ता गराउन सकिनन् ।
समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, उपाध्यक्ष एवम् प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, वरिष्ठ नेता अशोक राई विहान सबेरै रेणु यादवको निवासमा पुगेका थिए । सबै नेताहरु उनको घरमा पुगेपछि रेणु यादवले कुनै गतिविधि गर्न नै पाइनन् । फलस्वरुप तत्काललाई पार्टी फुटाउने तयारी सफल हुन सकेन ।
समाजवादी पार्टी र राजपा नेपाल एकीकरण भएपछि दल दर्ताका लागि उपेन्द्र यादव रेणु यादवकै घरबाट निर्वाचन आयोग पुगेका थिए । उनी निर्वाचन आयोग पुग्दा अध्यक्ष भट्टराई, मुख्यमन्त्री राउत र वरिष्ठ नेता राईलाई भने त्यही छाडेर गएका थिए ।
समाचार तयार गर्दासम्म पनि उनीहरु रेणु यादवकै घरमा छन् । उनीहरु आफ्नो घरमा बसिरहेको कुरा रेणु यादवले पनि स्वीकार गरिन् । उनले राजपा नेपालसँग भएको एकीकरणको बारेमा छलफल गर्नका लागि नेताहरु आफ्नो घरमा आएको बताइन् ।
‘समाजवादी पार्टी फुट्ने सम्भावना टरेको हो त ?,’ भन्ने जिज्ञासा राख्दा उनले अझै आफूहरु छलफलको क्रममा रहेको बताइन् । ‘समाजवादी पार्टी र राजपा नेपाल बीचमा एकीकरण भएको छ, त्यो विषयमा पनि छलफल भइरहेको छ । समाजवादी पार्टीमा असन्तुष्ट रहेका अन्य नेताहरुसँग पनि छलफल भइरहेको छ,’ उनले बताइन् ।
उपाध्यक्ष रेणु यादवलाई साथ दिएका नेताहरुलाई रातिदेखि उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले पछ्याइ रहेका थिए । प्रदीप यादवले राति नै आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै रेणु यादवको साथ छाडेका थिए ।
त्यसैगरि, डा.सुरेन्द्र यादवलाई पनि समाजवादी पार्टीका नेताहरुले आफ्नो सम्पर्कमा ल्याउन सफल भएका छन् भने उता रेणु यादवको घरमा हिजैदेखि सबै नेता डेरा जमाएपछि पार्टी फुटाउने नेताहरुले केही थप निर्णयहरु गर्न सकेनन् ।
अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले इस्तियाक राइ लगायत अन्य असन्तुष्ट नेताहरुसँग पनि भेटेका छन् । उनीहरुलाई अझै सम्झाइ बुझाइ गरिरहेका छन् । तर, उनीहरुको असन्तुष्टिलाई सम्बोधन गर्न सकिरहेका छैनन् ।
‘जे होस् केही दिनका लागि समाजवादी पार्टी टुक्रिने अवस्थाको अन्त्य भएको छ,’ सांसद प्रदीप यादवले भने, ‘समाजवादी पार्टी अब विभाजन हुँदैन, पार्टी नेतृत्वले पार्टीभित्र रहेका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्