सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कुवेतमा ८४ नेपालीमा कोरोना, ३ हजारलाई फर्काइँदै

कुवेतमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ८४ पुगेको छ । आइतबार साँझसम्म थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कुवेतमा कोरोना संक्रमित हुने नेपालीको संख्या ८४ पुगेको हो ।

दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले भनेको छ ।

कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले भनेको छ ।

Corona

यस्तै वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब ३ हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ ।

कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि एम्नेष्टीको ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो । त्यसमा नेपालको पालो २६ अप्रिल देखि ३० सम्म राखेको थियो । घर फर्किनका लागी तीन हजार भन्दा बढी नेपालीले आवेदन दिएको बताइएको छ ।

साउदी अरेबियाले पनि कोरोना अघि घोषणा गरेको एम्नेष्टी खोल्न सक्नेछ भने त्यस्तै एमनेस्टी यूएईले पनि गर्न सक्ने दूतावास अधिकारीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन् । यता मलेसियाले पनि फर्कनेका लागि आइतबार सूचना जारी गरिसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्