सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

युएईमा एकैदिन २२ नेपालीमा कोरोना संक्रमण

युएईको शारजहामा एकै दिन २२ नेपाली कामदारहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । ती सबै नेपाली महिला कामदार हुन् । शारजहाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड–१९ पोजिटिभ देखिएको थियो ।

पोजिटिभ हुनेमा २२ जना नेपाली महिला कामदारहरु रहेको एनआरएनए युएईको क्युआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाले बताएका छन् । संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ ।

तर क्वारेन्टाइनमा अलग्गै बाथरुम र शौचालय नभएकोले संक्रमण नभएका अन्य कामदारहरु समस्यामा रहेको शेर्पाले बताएका छन् । उक्त कम्पनीमा सयको हाराहारीमा नेपाली महिला कामदारहरु कार्यरत छन् ।

Corona Infected

उनीहरु स्कुल, कलेज, बैंक, विभिन्न अफिसहरुमा हाउस किपिङको काम गर्छन् । स्कुल, कलेजमा काम गर्नेहरु बेतलबी बिदामा छन् भने बैंक तथा अन्य प्रतिष्ठानहरुमा काम गर्नेहरु नियमित ड्युटी गरिरहेका छन् ।

शेर्पाका अनुसार दुबई क्षेत्र भन्दा बाहिर समस्या परेकोले आफूहरुले कोरोना पोजिटिभ भएको अवस्थामा पनि दुबईमा झै सरकारी व्यवस्थित क्वारेन्टाइनमा पठाउन नसकेको बताएका छन् ।

क्युआरएफले इमिरेट्स अफ दुबई भित्र मात्र हेर्न स्थानीय प्रहरीले दिएको अनुमतिका कारण अन्य इमिरेट्सको समस्या हेर्न नसकेको बताए । दुबईमा मात्र अहिलेसम्म ४४ जना नेपाली संक्रमित भएका छन् ।

जसमध्ये १२ जना उपचार पछि निको भएको, ५ जनाले कम्पनी क्वारेन्टाइनमा, २ जनाले आफ्नै निवासको सेल्फ क्वारेन्टाइनमा र २५ जनाले दुबई सरकारको क्वारेन्टाइनमा स्वास्थलाभ गरिरहेका छन् ।

क्युआरएफले दुबई सरकारको क्वारेन्टाइनमा पठाउन सिफारिस गरेकोहरुको स्थानान्तरण दर शतप्रतिशत भएको बताउँदै शेर्पाले क्युआरएफमा जानकारी आएको बढीमा ७२ घन्टा भित्र दुबई सरकारले खाली ठाउँ हेरि संक्रमितहरुलाई स्थानान्तरण गरेको बताएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार हाल सम्म युएईका सबै राज्यमा गरी एकसय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएका छन् भने ६ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्