सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोनाका कारण वेलायतमा ६१ नेपालीको मृत्यु

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ६१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक तथ्यांक सार्वजनिक गर्दै ६१ नेपालीको मृत्यु भएको जनाएको हो ।

नेपाली दुतावास लन्डनबाट यसअघि ६० जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । एनआरएनए यूकेले हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको समेत बताएको छ ।

उनीहरुमध्ये उपचारका लागि अस्पतालमै भर्ना भएका १ सय १५ छन् । तथ्यांकले ३७ जना उपचारपछि निको भएर घर फर्किएको तथा १७ जना अँझै पनि उपचारकै क्रममा अस्पतालमा रहेको देखाएको छ ।

हालसम्म बेलायतमा ६ सय ३२ जना नेपाली कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बसेका छन् । उनीहरुमध्ये ५ सय ७० जना अहिले निको भइसकेका छन् भने ६२ जना अझै पनि आइसोलेसनमै रहेको जनाइएको छ ।

एनआरएनए यूकेको हेल्पलाइनको सक्रियतामा तथ्यांक संकलन गरिएको हेल्पलाइनका संयोजक एनआरएनए यूके सचिव जीत रानाभाटले जानकारी दिएका छन् ।

Italy in CoronaVirus

एनआरएनए यूकेले बेलायतमा अफ्ठेरोमा परेका नेपालीहरुको लागि २५ डाक्टर, २४ नर्स र १ सय २ जना स्वयंसेवक गरी कुल १ सय ५१ जना स्वयंसेवकले सहयोग गरिरहेको जनाएको छ ।

संस्थाले समस्यामा पर्ने विद्यार्थीहरुलाई राहतका साथै भूपू गोर्खा र वृद्धवृद्धा लगायतलाई प्राथमिकतामा राखी मास्क, स्यानिटाइजर, पञ्जा लगायतका सुरक्षा सामग्री वितरण पनि गरिरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्