नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट नेपालमा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअघि शनिबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको जानकारी गराएका छन् ।
मन्त्री बरालले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिएका छन् । उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरी लगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने मन्त्री बरालले बताएका छन् ।
आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए । भारतबाट आएका उनलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो । उनी बसेको क्वारेन्टाइनमा अरू ३८ जना पनि छन् ।
क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो । उनलाई अस्पताल लैजान स्थानीय एम्बुलेन्सलाई खबर गरेपनि पीपीई नभएका कारण चालकले नमानेको स्थानीयबासीको दाबी छ । र, उपचार अभावकै कारण उनको मृत्यु भएको भन्दै उनीहरुले आक्रोस पोखेका छन् ।
शनिबार कोरोनाका कारण सिन्धुपाल्चोकको बाह्रेबिसेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । मृतक महिला १० दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी थिईन । उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए । डिस्चार्ज भएर जाँदा आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो ।
सिन्धुपाल्चोक गइसकेपछी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएको बताइएको छ । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको थियो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्