सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोनाले विश्वभर ९८ नेपालीको मृत्यु (भिडियो)

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट नेपाल लगायत विश्वका बिभिन्न देशमा गरी ९८ नेपालीको मृत्यु भएको छ । नेपाल भित्रै भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

https://youtu.be/fR8QVZFG98A

यसअघि शनिबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको जानकारी गराएका छन् ।

मन्त्री बरालले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिएका छन् । उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरी लगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने मन्त्री बरालले बताएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका बाँके नरैनापुरका २५ वर्षीय युवक बुधबार मात्र नेपाल आइपुगेको पाइएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयाँ बस्तीका उनको आइतबार बिहान मृत्यु भएको थियो ।

उनी मुम्बईबाट दुई साता लामो यात्रा गरेर गत बुधबार मात्र बाँकेको नरैनापुर आएका थिए । लामो पैदल यात्राका कारण उनको खुट्टा सुन्निएको थियो । शनिबार राति उनलाई एक्कासी ज्वरो आयो ।

स्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भएको हो । ‘अरु कुनै रोग भएजस्तो थिएन’ नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले भने, ‘राति एक्कासी ज्वरो आएको र वान्ता पनि गरेका रहेछन् । पछि स्वास्सप्रस्वासमा पनि समस्या देखिएछ ।’
एम्बुलेन्स खोज्दाखोज्दै युवकको ज्यान गएको उनले बताए । तर क्वारेन्टाइनमा बसेकाहरुले समयमा उपचार नपाएर उनको मृत्यु भएको बताएका छन् । क्वारेन्टाइनमा बसेका उनलाई एक दिनअघि नै वाकवाकी लाग्ने समस्या थियो ।

शनिबार राति लगातार दुई घण्टा वान्ता गरेका थिए । तर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीद्वय दिनेश मौर्य र प्रेम बुढा दुबै त्यहाँ थिएनन् । उनलाई अस्पताल लैजान खोज्दा पीपीई नभएको भन्दै एम्बुलेन्स पनि आएन । उनको आइतबार बिहान ६ः ३० बजे मृत्यु भएको थियो । क्वारेन्टाइन व्यवस्थापन गरिरहेका नरैनापुर गाउँपालिका–६ का वडा सचिव जीवनलाल यादव पनि सम्पर्कविहीन भएको उनीहरुको आक्रोश छ ।

विहान १० बजेसम्म गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राबाहेक स्वास्थ्यकर्मी र अन्य कर्मचारी घटनास्थलमा नपुगेको बाँकेका पत्रकार विनय दीक्षितले बताएका छन् । क्वारेन्टाइनमा बसेकाहरुले असुरक्षित भएको भन्दै घर पठाउन माग गरेका छन् ।

त्यस्तै शनिबार कोरोनाका कारण सिन्धुपाल्चोकको बाह्रेबिसेकी २९ वर्षीया सुत्केरी महिलाको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । मृतक महिला १० दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी थिईन । उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए । डिस्चार्ज भएर जाँदा आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो ।

सिन्धुपाल्चोक गइसकेपछी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएको बताइएको छ । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएपछी उनको मृत्यु कोरोनाकै कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

कोरोनाबाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला टोखा नगरपालिका–९ मा बस्दै आएको पाइएको छ । तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि नेपाली सेनाबाट अवकाश प्राप्त श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् ।

मृतकका एक जना आफन्तले बताएअनुसार त्यसयता टोखा नगरपालिका–९ मा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन् ।

टोखामै रहेका बेला २३ वैशाखमा व्यथाले च्यापेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । भोलिपल्ट छोरा जन्मियो र २५ गते उनलाई डिस्चार्ज गरिएको थियो । डिस्चार्ज भएर उनी सिधै गाउँमा गएकी थिईन ।

लकडाउनका कारण काठमाडौंमा बस्न समस्या हुने भएकाले परिवारले उनलाई गाउँ लगेको थियो । तर गाउँ गएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएको थियो । बाह्रविसेस्थित प्राथमिक उपचार केन्द्रमा लगियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालले काठमाडौं लैजान सुझाएको थियो तर कपडा लिन भन्दै उनीहरु फेरि गाउँ फर्किए ।

तर पुनः धुलिखेलतिर आउने क्रममा उनको बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । र, उनको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ ।

कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । परिवारका बाँकी तीन जना सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन् । उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिसकिएको छ ।

यसैबीच मृतकको घर र माइती गाउँलाई सिल गरिएको छ । मृतकको घर बाह्रबिसे नगरपालिका–९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन् ।

उनकाअनुसार माइती गाउँबाट आफन्तहरु भेट्न गएकाले गाउँ पनि सिल गरिएको हो । सिल गरिएका वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् ।

जिल्लाको कोभिड–१९ विपद व्यवस्थापन केन्द्रले त्यस क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने आग्रह गरेको छ । साथै सिल गरिएको क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ ।

यस्तै मृतकको हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।

त्यसैगरी काठमाण्डौमा उनी बसेको टोखा नगरपालिकाको क्षेत्रलाई पनि शिल गरिएको नगर प्रमुख प्रकाश अधिकारीले बताए । अधिकारीका अनुसार वडा नं. ९ मा पर्ने काभ्रे डेरीदेखि अरुण डेरीसम्म बाटोमा सिल गरिएको छ ।

अब उनीसंग सम्पर्कमा गएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ । उनी बसेको डेरा नजिकै आफन्तहरु पनि बसोवास गर्ने गरेको र आवजाउ भइरहने गरेको परिवारिक स्रोतले जनायो ।

स्रोतका अनुसार उनको बच्चाको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन भइसकेको छ । यद्यपि रिपोर्ट आइसकेको छैन । उनको जेठो छोरा ११ वर्षका छन् । अब उनको सम्पर्कमा आएकाहरुको पनि परीक्षण गरिनेछ । अहिलेसम्म उनलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन ।

शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना देखिएको थियो । त्यसैले अस्पतालबाटै उनमा कोरोना संक्रमण भएको हुनसक्ने परिवारले आशंका गरेको छ । तर अस्पतालका चिकित्सक डा. सन्तकुमार दासले भने प्रसुति गृह र संक्रमित बालिकाले उपचार गराएको भवन वेग्लावेग्लै भएको बताएका छन् ।

पहिलो कारोना संक्रमित उनको शनिबार राति नै पशुपति आर्यघाटमा अत्येष्टि गरिसकिएको छ । पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहमा उनको अत्येष्टि गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताएका छन् ।

उनका अनुसार अत्येष्टिमा उनका श्रीमान, स्वास्थ्यकर्मी र सुरक्षा निकायका अधिकृतहरु उपस्थित थिए । नेपाली सेना र प्रहरीको स्कटिङमा उनको शवलाई काठमाडौसम्म ल्याइएको थियो ।

कोरोनाले नेपालबाहिर बिदेशमा ९६ नेपालीको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो तथ्यांक शनिवार (१६ मे २०२०) साँझसम्मको हो ।

सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरुको संख्या १५ पुगेको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्