गुल्मिका कोरोना संक्रमितको अवस्था गम्भिर भयो
गुल्मीका कोरोना भाइरस (कोभिड(१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो ।
उनी गुल्मिको मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् । जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।
स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटर (कृतिम श्वासप्रश्वास) मा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको २ गते थ्रोट स्वाब संकलन गरिएको थियो र भैरहवास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।
४१ वर्षीय उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहीँ गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरी परीक्षणको लागि लगिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिएका छन् ।
‘उहाँको ट्राभल हिस्ट्री हेर्दा कतै बाहिर गएको पाइएको छैन, उहाँकै विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएकोले सोही क्वारेन्टाइनबाट पनि संक्रमण भएको हो कि भन्न सकिन्छ’, शाहले भने ।
अस्पतालको आइसियूमा भर्ना भएको कारण उनको उपचार त्यहीँ हुन्छ वा अन्यत्र लगिन्छ भन्ने विषयमा छलफल भइरहेको शाहले जानकारी दिएका छन् । प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी सँगै उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ पछि अस्पताललाई सिल गरिने जानकारी दिएका छन् ।
‘त्यो प्राइभेट अस्पताल हो उहाँहरूले सिल त गर्नुहुन्छ नै । त्योसँगै उपचाररत चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ हुन्छ’,उनले भने । एक सय बेडको उक्त अस्पतालमा ३ सय ४३ जना कर्मचारी छन् ।
अस्पतालले नियमित रूपमा ओपिडी चलाउँदै आएको थियो भने दैनिक १ सय ५० हाराहारी बिरामी ओपिडीमा जाँच गराउन आउने गरेको अस्पताल स्रोतले बताएको छ । अस्पतालमा ७ वटा न्यूरोसहित १७ वेड आइसियू रहेको अस्पतालले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्