सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा पारित

सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताएका छन् ।

आजैको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन् । बैठकमा उपस्थित एक मन्त्रीले भने, ‘लिपुलेक, लिम्पियाधुरासहितको नक्सा आज पारित भएको छ ।’

मन्त्री अर्यालले यसअघि नै नक्सा तयार भइसकेको बताउँदै आएकी थिइन् । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको छ ।

Cabinat of Nepal

गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भू–भाग समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता गरेको थियो ।

यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो । नेपाल सरकारले भारतको उक्त कदम खेदजनक भएको बताएको थियो र कूटनीतिक तवरले नै अगाडि बढ्न आग्रह गरेको थियो ।

भारतीय सेना प्रमुखले भने नेपाल सरकारले अरू कसैको निर्देशनमा चलेको टिप्पणी गरेको थियो । यसअघि भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतको नक्सा सार्बजनिक गरेदेखी नेपालमा जनस्तरमा त्यसको ब्यापक बिरोध हुँदै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्