सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वेलायतमा मात्रै कोरोनाबाट ६५ नेपालीको मृत्यु

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिएका छन् ।

पुख्र्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए । सुरूमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो ।

घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । घर नजिकैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन ।

उनका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै छन् । हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ ।
(रासस)

फेसबुकबाट कमेन्ट गर्नुहोस्