सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोना संक्रमितको संख्या २१०४ पुग्यो

मंगलबार झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै मंगलबार साँझसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१ सय कटेको छ । झापामा थपिएका पाँच जनासहित नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ५ पुगेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु भारतबाट स्वदेश फर्किएकाहरु हुन् । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ अधिकारीले जानकारी दिए ।

जेठ १३ गते गाउँपालिकाको होल्डिङ एरियामा आएकाहरुको १४ गते नमुना संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । तर नमुना पठाएको ६ दिनपछि मंगलबार कोरोना परीक्षणको नतिजा आएको हो ।

रिपोर्ट पोजेटिभ आएपछि पाँचजनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अधिकारीले जानकारी दिए ।

झापामा पाँच जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १७२ पुगेको प्रदेश सरकारले जनाएको छ । संक्रमितमध्ये ४८ जना डिस्चार्ज भएका छन् । पाँचजना संक्रमित थपिएसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्