सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुम घटनामा बेपत्ता शाहीको शव भेटियो

रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । घटनामा बेपत्ता भएका भनिएका गोविन्द शाहीको शव मंगलबार फेला परेपछी घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि भएको हो ।

चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको शव मंगलबार फेला परेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार शाहीको शव भेरी नगरपालिका–१२ स्थित भेरी नदीमा स्थानीयले फेला पारेका हुन् । उनी घटना भएकै दिन जेठ १० गतेदेखि बेपत्ता भएका थिए ।

उनीसँगै भेरी नदीमा हामफालेका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव यसअघि नै भेरी नदीमा फेला परेको थियो ।

घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तलको भिडियो हेर्न सिफारिस गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्