सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोना जाँचको बिरोधमा स्वास्थ्यकर्मीमाथी कुटपिट

रौतहटको राजपुर नगरपालिका–९ स्थित एक क्वारेन्टाइन स्थलमा बसेकाहरुबाट स्वास्थ्यकर्मी कुटिएका छन् । राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आक्रमणबाट दुई जना स्वास्थ्यकर्मी घाइते भएका छन् ।

घाइते हुनेमा सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह रहेका छन् । आक्रमणबाट आलमको टाउको फुटेको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Khursid Alam Rautahat

पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि संक्रमतिसँगै केही दिन बसेकाले आरडीटी परीक्षण गराएरमात्रै घर पठाउने तयारी भइरहेको समयमा उनीहरुले त्यसको विरोध गर्दै स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको खुल्न आएको छ ।

क्वारेन्टाइनमा बसेका २०९ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरु पनि केही दिन संक्रमितसँगै बसेकाले आरडीटी परीक्षण गराएरमात्रै पठाउने तयारी अनुसार आरडीटी परीक्षण भइरहेको थियो ।

बुधबार २० जनाको आरडीटी परीक्षण भइसकेको थियो । जसमा १० जनाको आरडीटी रिपोर्ट पोजेटिभ पनि देखियो । आरडीटी परीक्षण चलिरहेकै समयमा एक्कासी उनीहरुले परीक्षण नै नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि जाइलागेको बताइएको छ ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले स्वास्थ्यकर्मीहरु चढेर आएको तीन वटा मोटरसाइकल समेत तोडफोड गरेका छन् । क्वारेन्टिनमा बसेकाहरुको आरडीटी परीक्षणका लागि जिल्लाबाट तीन जना स्वास्थ्यकर्मीसहित ९ जनाको टोली खटिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्