नेपालमा कोरोना संक्रमणका कारण १३ को मृत्यु
नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भइसकेपछि शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
धनगढीकी महिलाको शुक्रबार सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो । डोल्पाका पुरूषको गत २१ गते राति २ बजे घरमै मृत्यु भएको थियो ।
उनीहरू दुबैको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा बताएका छन् ।
डोल्पामा मृत्यु भएका पुरूष दमका रोगी थिए । उनी गत जेठ १६ गते सुर्खेतबाट डोल्पा गएर होम क्वारेन्टाइनमा बसेका थिए । मृत्यु भइसकेपछि उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उनको अन्त्येष्टि गरिसकिएको छ ।

यस्तै सेती प्रयोगशालामा गरेको परीक्षणमा ५५ बर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको हो । उनी मिर्गौलाको विरामी थिइन् । शुक्रबार डायलासिसका लागि सेती प्रादेशिक अस्पताल गएकी उनको दिउँसो १२ बजेतिर मृत्यु भएको थियो । स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै शनिबार कोरोनाभाइरसका तीन सय २३ जना संक्रमित भेटिएका छन् । उनीहरू मध्ये दुई सय ८६ जना पुरूष र ३७ जना महिला छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिए । अब देशभर संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुगेको छ ।
डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–४ की महिलालाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा लगिएको थियो ।
डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको केहीबेरमा नै मृत्यु भएको थियो ।
उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर आरडीटी नेगेटिभ आएको भन्दै अस्पतालले परिवारका सदस्यहरूलाई मृतकको शव बुझायो । आफन्तलाई पर्खिएको परिवारले शनिबार मोहना घाटमा अन्त्येष्टि गरे । त्यसको केही घण्टामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
संक्रमित महिलाको अन्त्येष्टिमा परिवारका सदस्यसहित २०÷२२ जना सहभागी भएका थिए । प्रहरीले उनीहरूको खोजी थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी हिक्मत थापा भन्छन्, ‘केही मलामी सम्पर्कमा आएका छन्, केहीको खोजी भइरहेको छ ।’
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण एक सातामा २ जनाको मृत्यु भएको छ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुरा बुढीगंगा नगरपालिका–१ की २ वर्षीया बालिकाको बाजुरा अस्पतालमा १८ गते मृत्यु भएको थियो ।
बालिकाको मृत्यु भएको करिब १२ घण्टापछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । मृतक बालिकाको आमालाई पनि कोरोना संक्रमणको पुष्टि भएको थियो भने बुबाको पीसीआर रिर्पाेट नेगेटिभ आएको छ ।
तर मृत्युपछि कोरोना संक्रमण पुष्टि हुँदा थप जोखिम बढ्ने जानकारहरू बताउँछन् । ‘रिर्पाेट आउन ढिलो हुँदा बुबामा पनि संक्रमण फैलनसक्ने खतरा थियो’ बाजुरा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट रुपचन्द्र विश्वकर्मा भन्छन्, ‘यस्तो अवस्थामा परिवारका सदस्यसँगै स्वास्थ्यकर्मीलाई पनि संक्रमण जोखिम हुन्छ ।’
कैलालीकी महिलाको पनि मृत्यु भएको करिब ३० घण्टापछि कोरोना परीक्षण रिपोर्ट आएको छ । मृत्युपछि कोरोना पुष्टि हुँदा त्यसले थप जोखिम बढाउने प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । उनले भने–‘उनलाई अस्पताल ल्याउने र उपचार गर्न सबैलाई दुई साताभित्र कुनै लक्षण देखिए तुरुन्तै परीक्षण गर्नुपर्छ ।’








फेसबुकबाट कमेन्ट गर्नुहोस्