भारतलाई नेपालले नक्सास्त्रको वाण हान्योः प्रदिप
नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपालले नयाँ नक्सा जारी गरेर भारतलाई अस्त्र प्रयोग गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा गिरीले रामले रावणलाई प्रहार गरेको जस्तै अस्त्र नेपालले प्रयोग गरेको बताएका छन् ।
‘मेघराजले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गरेजस्तै अस्त्र प्रयोग गरेका छौँ । बह्माअस्त्र/वायोअस्त्र जस्तै नक्सास्त्र’, गिरिले प्रश्न गरे, ‘अब हामीले प्रयोग गरेको नक्सालाई विफल हुन नदिन हामीले जुन कुटनीति अपनाउनुपर्ने हो के त्यसको बारेमा हाम्रो मन्त्रालय सजग छ ?’
उनले नेपालका लागि आवश्यक मात्र राजदूतावास राख्न र बाँकी कटौती गर्न सुझाए । उनले ब्रसेल्समा रहने दूतावासले पूरा युरोप हेर्न सक्ने तर्क गरे । उनले स्पेनको म्याड्रिडको राजदूतावास वा डेनमार्कको दूतावास मार्फत् नक्सा कुटनीतिमा सरकारले सहयोग जुटाउन सक्नेमा शंका व्यक्त गरे ।
‘हामीलाई सहयोग गरे बेइजिङले नै गर्ला, ध्यान पुर्याउनुस्’, गिरीले भने, ’होइन भने हिन्दुस्तानसँग लेनदेन गरेर बदलिएको परिस्थितिमा गणतान्त्रिक तबरले निर्णय गर्नुस् । राजा महेन्द्रले जस्तो सुटुक्क एउटा चिठी पाएपछि एकातिर काम गर्ने र अर्कोतिर उग्र भाषण गर्ने काम नगर्नुस् ।’
उनले सरकारको ध्यान कोभिडले अफ्ठ्यारो परेका श्रमिकको उद्दारमा भन्दा राजदूतावास निर्माणमा गएको आरोप लगाए । प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा उनले चीन तथा क्यानेबेरा र अन्य देशमा बन्दै गइरहेका दूतावास तथा अन्य निकायका भवनका लागि ठूलो रकम छुट्याइएको तर श्रमिकको उद्दारका लागि रकम नछुट्याइएको बताए ।
उनले बेइजिङसँगको सम्बन्धलाई उच्च प्राथमिकतामामा राखेर राजदूतावास भवन निर्माण गर्नुपर्ने भएपनि भवन निर्माणको विषय कोभिडबाट छटपटाइरहेका श्रमिकको उद्दारको विषयसँग तुलना गर्न नसकिने बताएका छन् ।
उनले परराष्ट्रमा नियोग चलाउँदा भूगोलको ध्यान दिन सुझाए । ‘मन पराएपनि मन नपराए पनि हिन्दुस्तान र चीन अनि त्यसपछि सबै भन्दा काम लाग्ने मुलुक भनेको संयुक्त राज्य अमेरिका हो’, उनले भने, ’बाँकी मुलुकसँग हामीले कुनै समय राजालाई हरेक सह मा दरबार चाहिए जस्तै अहिलेका प्रधानमन्त्री र राष्ट्रपतिलाई स्वागत गर्न राजदूत राख्ने काम छैन ।’
उनले नेपालले आफ्नो अस्तित्व जोगाउन कुटनीतिक बुद्धिमत्ता प्रयोग गर्नुपर्ने तर्क गरे । उनले प्रधानमन्त्रीलाई नक्साअस्त्र, वायोअस्त्र, बह्माअस्त्रको मोहबाट मुक्त भएर सार्थक राजनीतिको सुझाव दिन मन्त्रीहरुसँग आग्रह गरे । गिरिले भने–‘नेपाललाई सार्थक राजनीतिकतर्फ लैजान उहाँले सक्नुहुन्छ, उहाँमा दक्षता छ । सल्लाहकार ठिक भएनन् ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्