नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो
चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा सारिएका एक कोरोना संक्रमितको मृत्यु भएको हो । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।
भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।

जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै क्रिटिकल अवस्थाका बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले आपत्ति जनाएका छन् । नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले आफूहरुले बिरामी नसार्न भन्दाभन्दै सारिएको बताएका छन् । मेडिकल सुपरिटेन्डेन्ट तिवारीले बिरामी ल्याउँदा समेत सावधानी नअपनाएको बताएका छन् । नारायणी सामुदायिक अस्पतालको आईसीयूमा अन्य चार जना कोरोना संक्रमितसँगै राखिएका थिए ।
हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखाका एक, पाल्पामा १, डोल्पामा १, कैलालीमा एक, स्याङ्जामा १ र चितवनमा एक गरी १५ जनाको मृत्यु भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्