कालिकोटमा टिपर कर्णालीमा खस्यो, ३२ बेपत्ता
कालिकोटमा भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा लैजान लागेको टिपर कर्णाली नदीमा खसेको छ । नरहरिनाथ गाउँपालिका–१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो ।
बुधवार बिहान खसेको टिपरमा ३९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये ६ जनाको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिएका छन् ।
‘मान्छे बोकेर लिएको टिपर दुर्घटना भएको रहेछ, ३९ जना त्यसमा भएको प्रारम्भिक जानकारी आएको छ,’ एसपी बस्नेतले भने, ‘तीमध्ये ६ जनाको उद्धार भएको छ, टिपर नदीमा डुबेको भन्ने खबर आएको छ ।’

एसपी बस्नेतका अनुसार उद्दार गरिएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट लगिएको छ । उद्धारका लागि सुरक्षाकर्मीको टोली दुर्घटना स्थलतर्फ गइरहेको उनले जानकारी दिएका छन् ।
रास्कोट नगरपालिकाका मेयर कासीचन्द्र बरालले भारतबाट आएकालाई क्वारेन्टानइमा ल्याउने क्रममा टिपर खसेको बताएका छन् । मेयर बरालले भने–‘भारतबाट आएका हाम्रा र अन्य पालिकाका मानिसलाई क्वारेन्टाइनमा ल्याउने क्रममा दुर्घटना भएको हो ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्