सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुट्ट पेट किन बढ्छ ? पेट लागेको कसरी घटाउने ?

पुट्ट बाहिर निस्केको पेट नै सबै रोगको घर हो । शरीरमा आउने अधिकांश समस्या पेटबाट सुरू हुन्छ । एउटा भनाइ छ–टाउको दुख्यो भने पेटमा चिसो लगाउनू । त्यसैले स्वस्थ रहन हाम्रो पेट हर हालतमा ठीक अवस्थामा हुनुपर्छ, सफा हुनुपर्छ ।

हाम्रो समाजमा मोटाघाटा, पेट लागेकालाई गण्यमान्य र प्रतिष्ठित व्यक्तिका रूपमा लिइन्छ । अलि मोटो हुनुपर्छ अनि मात्र बलियो भइन्छ भन्ने गलत बुझाइ छ । वास्तवमा पेट बढ्नु भनेको शरीरबाट बाहिर निस्कासन हुनुपर्ने फोहोर शरीरमै जम्मा भएर बस्नु हो ।

हामीले खाएको खाना पहिले पेटमा जाने भएकाले फोहोर जम्मा हुने काम पनि पेटबाटै सुरू हुन्छ । त्यसैले शरीरलाई आवश्यकता भन्दा बढी खाना खाएमा पहिलो चरणमा पेटमा बोसोका रूपमा परिणत हुन्छ र पेटको आकार बढ्दै जान्छ । त्यसपछि पेटबाट फैलँदै गर्धन, अनुहार हुँदै टाउकोसम्म र तलतिर हिप, तिघ्रा र खुट्टासम्म फैलिन्छ ।

यदि त्यही गलत खानपान गरिरहे विकार शरीरको पछाडि भागतिर पनि फैलिन्छ । यसरी विकार चारैतिर फैलिन्छ र शरीरको आकारमा परिवर्तन आउँछ । शरीर जस्तो आकारमा हुनुपर्ने हो त्यस्तो नभई आकार बढ्नु नै मोटोपन हुनु हो । त्यसैले पेट बढ्नु, पेट छातिभन्दा बाहिर निस्कनु भनेको शरीरमा अतिरिक्त फोहोर, विकार सञ्चय हुनु हो । सबै रोगका लागि घर तयार हुनु हो ।

उदाहरणका लागि, हाम्रो कोठामा फोहोर जम्मा भयो भने के हुन्छ ? किटाणु अर्थात् भुसुना लाग्छ र त्यसले पूरै कोठामा दुर्गन्ध फैलाउँछ । त्यसैगरी शरीरमा फोहोर जम्मा भयो भने शरीरमा रोगका किटाणु सल्बलाउने आधार तयार हुन्छ र आधार तयार भएपछि सम्पूर्ण शरीरमा दुर्गन्ध फैलिन्छ ।

त्यसैले स्वस्थ रहन पेट बाहिरी रूपमा ठीक हुनुपर्छ र भित्री रूपमा पनि सफा हुनुपर्छ । बाहिर निस्केको पेटले शरीरलाई भद्धा देखाउने मात्र होइन, सबै रोगको कारण बन्छ ।

पेट बढ्नुको कारण
अहिले अधिकांश मानिसले भन्छन्, ‘म माछा, मासु खाँदिनँ तर पनि मेरो पेट लागेको छ, किन होला ?’ पेट बढ्न माछा, मासु नै खानुपर्छ भन्ने छैन । कार्बोहाइड्रेट मात्रा बढी भएमा पनि पेट लाग्छ । कार्बोहाइड्रेट हुने खाना भन्नाले हामीले दैनिक खाने भात, रोटी, ढिँडो, मकै, गहुँ आदि हुन् । यी खाना बढी हुँदा पनि पेट बढ्छ ।

हाम्रो समाजमा खाना बढी र तरकारी कम खाने चलन छ । त्यसमा पनि आलुको मात्रा बढी हुन्छ । साथै शरीरका लागि पोषण चाहिन्छ भनेर विभिन्न थरीका आहार जस्तै माछा, मासु, अण्डा, दूध, दाल, गेडागुडी लगायत अन्य भारी खाना खाने चलन छ । तर खाना खाइसकेपछि राम्रोसँग पाचन भएर निस्कासन हुन जरुरी छ र त्यसका लागि निस्कासक आहारको पनि उत्तिकै महत्व छ भन्ने हामीले बिर्सेका छौं ।

शरीरलाई पोषक आहार जति आवश्यक हुन्छ त्यति नै निस्कासनका लागि रेशा, छोक्राबोक्रा प्रशस्त भएका आहार चाहिन्छ । रेशा, छोक्राबोक्रा भएका आहारमा नफलेको चामल, चोकरसहितको पिठो, गहुँ, मकै, कोदो, फापर आदि एक दलीय अन्न, ताजा हरिया सागसब्जी, काँचो खानेकुरा सलाद र फलफूल पर्छन् ।

अधिकांश स्वास्थ्य समस्या यही रेशा, छोक्राबोक्रा भएका आहारको कमीले आएको छ । त्यसैगरी मैदाजन्य, जंक, चिनीबाट बनेका, चिल्लोमा तारे भुटेका, चिया, कफी, कोल्डड्रिंक्स, चकलटे, आइसक्रिम जस्ता खानेकुरा खाँदा पनि पेट बढ्छ । खानासँग पानी खाने बानीले र बीचबीचमा कुचुकुचु खाने बानीले पनि पेट बढ्छ ।

यसर्थ पेट बढ्नुको मुख्य कारण शरीरलाई चाहिनेभन्दा बढी खानु नै हो । चाहिनेभन्दा एक गाँस मात्र बढी खानाले पनि शरीरलाई हानी नै गर्छ । तर हामी सबै गल्ती आफू गर्ने, मन लागि खाने, शरीरलाई आवश्यकताभन्दा बढी खाने र बारम्बार त्यही गल्ती दोहो¥याउने र आफ्नो गल्तीबाट बढेको समस्या लिएर डाक्टरकहाँ गएर भन्छौं– डाक्टरसाब् ! म त्यस्तो धेरै केही पनि खाँदिनँ तर पनि पेट बढेको बढ्यै छ । मेरो यो पेट कसरी घटाउने? घटाइदिनु पर्यो, घटाउने औषधि दिनु प¥यो ।

आफ्ना लागि आफैंले गर्नुपर्छ, अरूले गरिदिएर हुँदैन । शरीरलाई चाहिनेभन्दा बढी खाएर पेट बढेको हो, त्यसैले खाना घटाएरै मात्र घट्छ । पेट, तौल घटाउने त्यस्तो कुनै औषधि छैन । त्यो त सम्पूर्ण आफ्नै हातमा छ ।

बुझ्नुपर्ने कुराः
हामी जति मेहनत र परिश्रम अन्य काममा लगाउँछौं त्यत्तिकै ध्यान आफ्नो शरीर र आफूले के खाँदैछौं भन्नेमा दिए पेट बढ्नेदेखि लिएर अरु स्वास्थ्य समस्याको शिकार हुनुपर्दैन । हाम्रो पहिलो कर्तव्य नै शरीरलाई हरहालतमा ठीक राख्नु हो । त्यसका लागि कुनै ठूलो कुरा गर्नुपर्दैन, शरीरको बोली र यसको संकेत ध्यान दिएर बुझे पुग्छ ।

पेटको बोलीः
हाम्रो शरीरले हरपल हामीसँग बोलिरहेको हुन्छ, संकेत दिइरहेको हुन्छ । पेटले पनि यसै गर्छ । खाना खाँदा होस् वा पानी पिउँदा, हिँड्दा वा सुत्दा, विचार गर्दा या रिसाउँदा, हरपल संकेत दिन्छ। तर हामी यसको भाषा, बोली र संकेतमा ध्यान दिँदैनौं र समस्यामा पर्छौं ।

खाना खाँदा पेटले दिने संकेतः जब हामी खाना खान्छौं तब हाम्रो पेट भरिँदै जान्छ । भरिँदै गएपछि पेटले संकेत दिन थाल्छ। संकेतका रूपमा पहिलो डकार आउँछ । पहिलो डकारको संकेत हो–पेट भरियो, अब खाना कम गर ।

डकार वेवास्ता गरी त्यही अनुपातमा खाना खाएमा दोस्रो डकारले संकेत दिन्छ । दोस्रो डकारको संकेत हो–अब पूर्ण रूपमा पेट भरियो, खाना बन्द गर । तर यसको पनि बेवास्ता गरेर खाएमा खाना विष सरह बन्छ ।

त्यसैले शरीरलाई चाहिनेभन्दा एक गाँस मात्र बढी खाए पनि पेट उकुसमुकुस हुन्छ । उकुसमुकुस हुने गरी होइन, पेट एक भाग खाली हुनेगरी खानुपर्छ । शरीरलाई चाहिनेभन्दा एक गाँस बढी पनि, पेट बढ्ने र रोगको कारण बन्छ ।

पानी पिउँदा दिने संकेतः हामीले एकैपटक बढी पानी पिए पेटले तुरुन्तै संकेत गर्छ । एकै पटक धेरै पानी पिउँदा पेट फुल्छ, डुम्म हुन्छ ।

शारीरिक गतिविधि नमिल्दा दिने संकेतः खाना खानेबित्तिकै भारी व्यायाम गर्ने, दौडने, कुद्ने र सुत्ने गर्नाले पेटले अप्ठ्यारो भएको संकेत दिन्छ ।

विचार नमिल्दाः हामीले चर्को रिस, तनाव आदिमा खाना खाएमा पाचनमा गडबडी हुन्छ । पेटको यो सरल नियम ध्यानमा राखी हामीले खाए, पिए, सुते र विचार गरे पेट बढ्ने मात्र होइन, अरु स्वास्थ्य समस्याबाट पनि सजिलै मुक्त हुन सक्छौं ।

पेट घटाउने सरल खानपानः
हाम्रो पाचनका लागि शरीरलाई ६० देखि ७० प्रतिशत रेशा, छोक्राबोक्रा चाहिन्छ । हाम्रो खानामा अधिकांश सेता देखिने खाद्य पदार्थ, जस्तै सेतो चामल, मैदा आदि प्रयोग हुन्छ। चोकर खुइल्याइएका सेता देखिने खानामा रेशा वा छोक्राबोक्रा हुँदैन । त्यसैले सेतो चामलको सट्टा नफलेको चामल अर्थात् ब्राउन भात, आँटा, घरमै पाइने मकै, गहुँ, फापर खानुपर्छ ।

त्यसैगरी खानासँग प्रशस्त हरिया सागब्जी र अन्त्यमा काँचो सलाद जस्तै गाजर, बन्दा, काँक्रा लगायत ताजा फलफूल खानुपर्छ । यसरी तीनै थरी मिलाएर खाँदा खाना ३३ प्रतिशत अन्न, ३३ प्रतिशत हरिया सागब्जी र ३३ प्रतिशत काँचो सलाद दुई थरी गरी ६६ प्रतिशत रेशा, छोक्राबोक्रा प्रशस्त मात्रामा पुग्छ। र पाचन राम्रो भई पेट सफा हुन्छ । पेट सफा भएपछि बढ्नेदेखि लिएर अरू स्वास्थ्य समस्या आउन पाउँदैन । त्यसैले दैनिक खानामा खाना बराबर हरिया सागसब्जी र सलाद अनिवार्य हुनुपर्छ ।

पेट बढेका र मोटा व्यक्तिले भने आफूले खाइरहेको खानामा ४ भागमा १ भाग खाना कम गर्ने, तरकारी खानाभन्दा केही बढी, करिब ३०० ग्राम लिने । र, अन्त्यमा करिब १५० ग्राम सलाद खाने ।

यसरी खाना मिलाएर खाए पेट भरिने र विस्तारै घट्दै जाने हुन्छ। पेट घट्दै गएर ठीक अवस्थामा आएपछि विस्तारै कम गरेको खाना बढाएर भात, तरकारी र सलाद तीनै थरी बराबर खान सकिन्छ । साथै उचित मात्रामा पानी पिउनुपर्छ ।

बिहान उठ्नेबित्तिकै खाली पेटमा करिब १ लिटर पानी पिउनुपर्छ भने दिनमा प्रतिघन्टा एकएक गिलासका दरले पिउनुपर्छ । कुनै पनि ठोस आहारसँग पानी नलिने र बेलुकी सुत्दा १ गिलास पानी पिएर सुत्ने । यसरी पानी नियमअनुसार पिउँदा शरीरमा फोहोर जम्मा हुन पाउँदैन र पेट बढ्न पाउँदैन । ध्यान दिनुपर्ने कुरा खाना चपाईचपाई खानुपर्छ खानासँग पानी पिउने बानी गर्नु हुँदैन ।

उचित गतिविधिः
जसरी स्वस्थ रहन खानपान मिल्नुपर्छ त्यसैगरी हामीले गर्ने गतिविधि पनि मिल्नुपर्छ। गतिविधि भन्नाले शरीरले गर्ने सबै क्रियाकलाप हुन् । एउटा भनाइ छ– शरीर जति चलायमान रह्यो, त्यति नै बलियो र स्वस्थ हुन्छ र मन जति स्थिर हुन्छ त्यतिकै राम्रो ।

तर हामीकहाँ ठीक उल्टो भएको छ, हाम्रो मन धेरै चल्छ भने शरीर स्थिर र धेरै आराममा । उहिले हाम्रा बाजेबराजु एक खाना खाएपछि अर्को खाना जोहो गर्न शिकार गर्न हिँड्नु पर्थ्यो वा कुटो–कोदालो लिएर खेतमा काम गर्नु पर्थ्यो । यसले शारीरिक परिश्रम राम्रो भई खाना राम्ररी पच्थ्यो ।

शरीर बलियो र तगडा हुन्थ्यो । त्यस्तै जंगलका जनावर पनि एक खाना खाएर अर्को खानाका लागि घन्टौं शिकार खोज्नु पर्छ । यसले गर्दा जंगली जनावर दिनभर क्रियाशील र स्वस्थ हुन्छन् । अहिले हाम्रो अवस्था–फ्रिजमा भरी खाना, खानापछि आरामै आराम, परिश्रमको निकै कमी ।

हाम्रा दुई हात र दुई खुट्टा परिश्रम गर्न दिइएको हो । त्यसैले स्वस्थ रहन शारीरिक परिश्रम हुनैपर्छ । परिश्रम कम छ भने दैनिक १ घन्टा जोर्नी र मांसपेशी सञ्चालन हुने व्यायाम गर्नुपर्छ । व्यायामले दिनभर स्फूर्ति र स्वस्थ राख्न सहयोग गर्छ । व्यायाममा बिहानी हावामा हिँड्दा हुन्छ या योग या अन्य अभ्यास गर्दा पनि हुन्छ ।

व्यायामका साथै सुत्ने, उठ्ने, खाने, पिउने हर कुरा उचित हुनुपर्छ जसले शरीरलाई ठीक राख्न सहयोग गर्छ ।

खाने क्रमः
हाम्रो खानेको कुनै ठेगान छैन। जतिबेला जे भेटिन्छ खान्छौं, पिउँछौं। बुझ्नुपर्ने कुरा के भने, खाना जिब्रो र स्वादका लागि होइन, यो शरीरका लागि हो । त्यसैले शरीरलाई मापदण्ड बनाएर खाने गरे स्वस्थ रहन सकिन्छ ।

अहिले हामी कुन बेला खाने, कति बेला खाने, कति पटक खाने भन्नेमा अलमलमा छौं । कोही भन्छन् २–२ घन्टामा खानुपर्छ, कसैले ४ देखि ५ घन्टाको अन्तरमा । के हामीले विज्ञ वा अन्यको सल्लाहअनुसार मात्र खानु पर्ने हो त ?

वास्तवमा हाम्रो शरीर संसारको सबभन्दा ठूलो र भरपर्दो प्रयोगशाला हो । हामीले खाएको खाना मिले–नमिलेको देखिने पहिलो ठाउँ पनि यो शरीरमै हो । आहार, विहार र विचार ठीक छ(छैन भनेर प्रयोग गर्ने ठाउँ पनि शरीर नै हो र खाएको ठीक वा बेठिक छुट्याउने मापदण्ड पनि शरीरै हो ।

त्यसैले के र कति पटक खाने भन्ने कुरा पनि हाम्रो यो शरीरलाई मापदण्ड बनाएर सजिलै बुझ्न सकिन्छ । पाचन क्रियाअनुसार हामीले एकपटक खाएको खाना पूर्णरूपमा पच्न कम्तिमा ४ घन्टा लाग्छ। त्यसैले एक खाना र अर्को खाना बीचको अन्तर करिब ४ देखि ५ घन्टा हुनुपर्छ। ५ घन्टाको अन्तर भएमा खाना राम्ररी पच्न पाउँछ ।

शरीरको धर्मअनुसार भोक लाग्दा खानु र प्यास लाग्दा पिउनु उचित हुन्छ । तर भोक मन र बानीको पनि हुनसक्छ । त्यसैले दिनको ३ पटकभन्दा बढी नखानु पेट र स्वास्थ्यका हिसाबले ठीक हुन्छ । तीन पटकभन्दा बढी खानु पेट बढ्ने र रोगको कारण बन्छ ।

अन्त्यमा, खाना के र कतिपटक खाने भन्नेमा कसैको कुरा मान्ने या नमान्ने गरिरहनु पर्दैन । आफ्नो शरीरलाई मापदण्ड बनाएर हेरे पुग्छ। हामीले जुनसुकै खाना खाए पनि मिले वा नमिलेको पहिला यो शरीरमा प्रमाणित हुनुपर्छ ।

खाएको खाना ठीक वा बेठिक सजिलै छुट्याउन सकिने ३ नियमः
पहिलोः
खाना २४ घन्टामा पचेर भोलि बिहान सर्लक्क दिशा खलास हुनुपर्छ । दिसा खलास भएन भने खाएको ठीक भएन भन्ने बुझ्नुपर्छ । ठीक वा बेठिक शरीरले २४ घन्टामै देखाउँछ, कुनै ल्याबमा गइरहनु पर्दैन ।

दोस्रोः खाइसकेपछि शरीर र मनमा दुवैमा कुनै अप्ठ्यारो र रोग लाग्नु हुँदैन । यदि शरीर या मनमा कुनै अप्ठ्यारो या रोग लागेको छ भने खाएको मिलेन भन्ने बुझ्नुपर्छ । यो प्रत्यक्ष शरीरमा देखिने कुरा हो ।

तेस्रोः खाएपछि पेट बढ्ने वा मोटाउने हुनुहुँदैन । पेट वा मोटोपन बढेको छ भने खाएको मिलेन भनेर देखाएको संकेत हो । यही सरल विधि अपनाएर आफ्नो स्वास्थ्य आफ्नै हातमा लिई स्वस्थ रहनुपर्छ ।

पेट घटाउने योग आसनहरूः
सामान्यतया जुनसुकै व्यायामले पनि पेटको बोसो घटाउन सहयोग गर्छ। तर सुतेर गर्ने योगासनले पेटको मोटोपन घटाउन मद्दत गर्छ । यो व्यायाम मर्निङवाक अथवा कुनै हल्का व्यायाम गरेपछि १५ देखि २० मिनेट गर्दा हुन्छ ।

पवनमुक्त्तासन १
सिधा उत्तानो सुत्ने। दुवै खुट्टा सिधा राख्ने, दुवै हातलाई कम्मरको दायाँ बायाँ राख्ने । विस्तारै गहिरो सास तान्दै बायाँ खुट्टा ९० डिग्रीमा उठाउने, दायाँ खुट्टा सिधा भुइँमा राख्ने, मनमनै १० गन्ने र विस्तारै सास छाड्दै खुट्टा तल झार्ने। पालैपालो पाँच(पाँच पटक गर्ने ।

पवनमुक्त्तासन २
एकै पटक सास तान्दै दुवै खुट्टा ९० डिग्रीमा उठाउने, मनमनै १० गन्ने र विस्तारै सास छाड्दै तल झार्ने । ५ पटक गर्ने ।

पवनमुक्त्तासन ३
पालैपालो दुवै खुट्टा घुँडासम्म खुम्चाएर गोलो गोलो घुमाउने, दायाँ र बायाँ दुवैतिरबाट ५–५ पटक घुमाउने ।

पवनमुक्त्तासन–४
दुवै खुट्टा घुँडासम्म खुम्चाएर दायाँ र बायाँ दुवैतिरबाट ५–५ पटक गोलो घुमाउने ।

पवनमुक्त्तासन–५
सास छाड्दै सासको तालमा साइकल चाल गर्ने, सुल्टो र उल्टोबाट १०–१० पटक गर्ने ।

पवनमुक्त्तासन– ६
पालैपालो सास छाड्दै खुट्टा घुँडासम्म खुम्चाउने, दुवै हातले खुट्टामा समातेर लक गर्ने र टाउको उठाएर चिउँडोले घुँडा छुने प्रयास गर्ने । अर्को खुट्टा भुइँमा सिधा हुनुपर्छ, मनमनै १० गन्ने र विस्तारै सास तान्दै खुट्टा तल झार्ने । पालैपालो ५–५ पटक गर्ने ।

पवनमुक्त्तासन–७
सास छाड्दै दुवै खुट्टा घुँडासम्म खुम्चाउने, दुवै हातले खुट्टामा समातेर लक गर्ने र टाउको उठाएर चिउँडोले घुँडाको बीचमा छुने प्रयास गर्ने । मनमनै १० गन्ने र विस्तारै सास तान्दै खुट्टा तल झार्ने । ५ पटक गर्ने ।

पादोतानासन– १
सास तान्दै पालैपालो बायाँ खुट्टा र दायाँ हातलाई ९० डिग्रीमा उठाउने, अर्को खुट्टा र हात भुइँमा सिधा राख्ने, मनमनै १० गन्ने र विस्तारै सास छाड्दै खुट्टा र हात तल झार्ने । पालैपालो ३ देखि ५ पटक गर्ने ।

पादोतानासन–२
सास तान्दै दुवै खुट्टा र दुवै हात ९० डिग्रीमा उठाउने, मनमनै १० गन्ने र विस्तारै सास छाड्दै खुट्टा र हात तल झार्ने । ५ देखि १० पटक गर्ने ।

अन्त्यमा, अश्वासनः
उत्तानो सुत्ने, दुवै खुट्टा घुँडासम्म खुम्च्याउने, दुवै हात लक गरेर गर्धनमुनि राख्ने । दुवै कुइनाले भुइँ छुवाउने । विस्तारै सास छाड्दै दुवै खुट्टा बायाँ र टाउकोलाई दायाँ मोडेर कुइनालाई हेरिरहने । मनमनै ३० गन्ने र सास तान्दै बीचमा फर्कने । दायाँ, बायाँ पालै पालो ५–५ पटक गर्ने ।

योग आसन, व्यायामले शरीर लचिलो, फूर्तिलो र बलियो बनाउन सहयोग गर्छ भने उचित खानपानले स्वस्थ रहन । त्यसैले उचित आहार विहार र विचारका साथै हरेक दिन योग गरौं, स्वस्थ रहौं ।

उचित विचारः
आहार, विहारसँगै विचार पनि ठीक हुनुपर्छ । रिस, चिन्ता क्रोध, मोह, लोभ प्रतिस्पर्धा आदि भावले शरीरमा नराम्रो प्रभाव पार्छ जसले पाचनमा गडबडी भई कब्जियत, पेट बढ्ने र अन्य समस्या आउँछ। त्यसैले विचार उचित हुनुपर्छ ।

(लेखक रामदेवी महर्जन योग तथा उचित आहार, विहार, विचार प्रशिक्षक हुन् ।)

फेसबुकबाट कमेन्ट गर्नुहोस्