सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानले नेपाल आवत जावतमा प्रतिबन्ध लगायो

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई नियन्त्रण गर्न जापानले नेपालसहित थप १६ देशलाई पनि यात्रा प्रतिबन्धको सुचीमा राखेको छ । अनौपचारिक रुपमा यसअघि नै यात्रा प्रतिबन्ध गरिएका यि देशहरुमा जापानले औपचारिक रुपमै आवतजावत गर्न प्रतिवन्ध लगाएको हो ।

जापानका विदेश मन्त्री तोसिमिचु मोतेगीका अनुसार नेपाल सहित यात्रा चेतावनी जारी गरिएका १६ देशमा तेस्रो स्तरको खतरा जारी गरिएको छ । खतराको यस्तो स्तर अधिकतम चार तहको हुने गर्दछ । यस्तो यात्रा चेतावनी जारी गरेपछि जापानीहरुलाई नेपाल भ्रमणमा जान जापान सरकारले निरुत्साहित गर्नेछ ।

कानुनी रुपमा प्रतिबन्ध लगाएको नमानिए पनी जापानले भ्रमणमा जान स्विकृती नदिने अर्थात् रोक्ने गर्दछ । तर जापानबाट नेपाल फर्कन चाहने वा अन्य देशका नागरिकहरुलाई जानबाट भने रोक्ने छैन । यद्यपी नेपालबाट सामान्य भिषा प्रक्रिया अनुसार जापान आउन भने पुर्ण रुपमा रोक लाग्नेछ ।

Tokyo

जापानले नेपाल लगायतका देशमा आवतजावत गर्न प्रतिवन्ध घोषणा गरे पनि कहिलेसम्म भन्ने खुलाइएको छैन । आवतजावत गर्न रोक लगाइएका अन्य देशको नजिर हेर्ने हो भने कोरोना भाइरस संक्रमणको खतरा नटरेसम्म हाल लगाइएको यात्रा प्रतिबन्ध नेपालको मामलामा पनि खुल्नेछैन ।

मंगलबार थपिएका नेपाल सहित १६ देश जोड्दा जापानले यात्रा चेतावनी जारी गरेका देशको सुचि १ सय ४६ पुगेको छ । नेपाल सहित खतराको तेस्रो स्तर जारि गरिएका देशहरुमा केन्या, भेनेजुएला, बोत्स्वाना, दि कामोरोस्, लिबेरिआ, लिबिया, मादागास्कर, नामिबिया, पारागुए, कंगो, सेयरा लियोन, सोमालिया, सुडान र उज्बेकिस्तान रहेका छन् ।

यात्रा नेतावनी जारी गरिएसंगै जापानले औपचारिक रुपमा यि देशबाट जापान प्रवेशमा प्रतिबन्ध लगाएको छ । अनौपचारिक रुपमा भने यसअघि नै नेपाल सहित उल्लेखित १६ वटै देशबाट प्रवेशमा रोक लगाएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

जापानले यसअघि नै अमेरिका, युरोपका अधिकांश देश, बेलायत, चीन लगायत १ सय २९ देशमाथी प्रतिबन्ध लगाइसकेको छ । जापानले यसबाहेक जुनसुकै देशबाट आउने नागरिक माथी अनिवार्य दुई हप्ताको क्वारेन्टाइन नियम पनि लागु गरेको छ ।

अष्ट्रेलिया, न्युजिल्याण्ड, थाइल्याण्ड र भियतनाममा कोरोना संक्रमण न्युन देखिएपछी ति देशबाट ब्यापारिक प्रयोजनमा आउनेहरुमाथी भने जापानले प्रवेश प्रतिबन्ध खुकुलो पारेको छ । जापानले प्रतिबन्ध खुकुलो बनाउँदै लैजाने नीति अनुरुप अन्र्तराष्ट्रिय बिमानस्थलमा नै आगन्तुकहरुको कोरोना संक्रमण परिक्षण गर्ने तयारी गरेको छ ।

दैनिक १० हजार व्यक्तिसम्मको परिक्षण गर्ने गरि हानेदा, नारिता, कान्साई लगायत देशका प्रमुख बिमानस्थलमा कोरोना परिक्षणको व्यवस्था गर्ने जापानका स्वास्थ्य मन्त्री काचुनोबु कातोले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्