झण्डा जलाएको भिडियो बनाउने ९ जना पक्राउ
म्युजिक भिडियो बनाउन नेपालको राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत उक्त म्युजिक भिडियो बनाउने ग्याल्जेनसहित हालसम्म ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।
युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’ बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई ग्याल्जेन दोर्जे तामाङ ‘मंगोल ग्याल्जी’ले गाएका छन् ।
पक्राउ परेका मुख्य आरोपी ग्याल्जेन दोर्जे तामाङ भन्ने रोजित कुमार तितुङ मंगोलियन ग्रुपका सदस्य हुन् । पक्राउ पर्नेमा लावाङ तामाङ, चलाकमान तामाङ उर्फ प्रयास, अनोज कुमार तितुङ उर्फ मंगोल बुद्ध, हुत्तबहादुर तामाङ उर्फ संजय, कमलबहादुर लामा, अरुणा थामीसहित ९ जना रहेका छन् ।
मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । नेपालको झण्डा जलाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक संजालमा चर्को विरोध भएको छ । भिडियोमा क्षेत्री, बाहुन समुदायलाई अश्लिल गाली गरिएको छ ।
मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन् । भिडियोमा ढाका टोपी र झन्डाको अपव्याख्या गरिएको छ ।
भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिरसमेत जलाइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्