सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आमा छोरा(भतिजो)को अबैध सम्बन्धको खुलासा

शुक्रबार राति लेलेको जंगलमा मृत भेटिएकी अल्का अस्पतालकी कर्मचारी गीता केसीको हत्या उनकै भतिजाले गरेको पाइएको छ । प्रहरीले गीता केसीका भतिजो निर्मल केसीलाई शनिबार पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका निर्मल केसीले गीतासँग अवैध सम्बन्ध रहेको प्रहरीलाई बयान दिएका छन् । महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी टेकप्रसाद राईले दुईबीच अवैध सम्बन्ध रहेको कुरा आएपनि हत्याको कारण स्पष्ट भइनसकेको बताएका छन् ।

प्रहरीका अनुसार गीता १७ भदौमा अस्पताल जान्छु भनेर घरबाट निस्किएकी थिइन् । तर उनी अस्पताल नगई निर्मलसँग लेलेको जंगलमा पुगेको पाइएको छ । त्यहाँ गीताले आफू मर्नु न बाँच्नुको स्थितिमा रहेको भन्दै आत्महत्या गर्ने प्रयास गरेको निर्मलको बयान छ ।

त्यही क्रममा विवाद भएको र आफूले घाँटी थिचेको उनले बताएका छन् । तर हत्याको कारण लेनदेन वा अरु पनि हुन सक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

१७ गते आफैंले मोटरसाइकलमा राखेर लेलेको जंगलमा लगेर हत्या गरेका निर्मलले भोलिपल्ट गीता हराएको भन्दै प्रहरीमा उजुरी दिए । उनको श्रीमानले खासै वास्ता नगरेपछि निर्मल आफैंले महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएका थिए ।

प्रहरीले ललितपुर–२५ भैँसेपाटीकी गीताको खोजतलास थाल्यो । शुक्रबार गोदावरी नगरपालिका–१०, मूलडोलस्थित लेलेको जंगलमा महिलाको शव भेटिएको थियो । त्यो शव गीताकै भएको शनिबार पुष्टि भयो । शवको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । निर्मल महानगरीय प्रहरी वृत्त, चापागाउँको हिरासतमा छन् ।

अभियुक्तलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत सोधपुछ गर्ने चापागाउँका डीएसपी कृष्णराज ओझाले बताएका छन् । उनले भने, ‘म्याद थप गर्नुअघि कोरोना जाँच गर्नुपर्छ, परीक्षण गरिसकेका छौं, रिपोर्ट आएपछि बयान लिन्छौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्