श्रीमान मारेर भिरबाट खसाली गाउँलेसंग बिलौना
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० का ३६ बर्षीय भिम बहादुर बुढाको आफ्नै श्रीमतीले हत्या गरेको खुलेको छ । नेपाली सेनामा कार्यरत भिम बहादुरको उनकै श्रीमती अञ्जना बुढाले हत्या गरि भिरबाट खसाएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
भदौ १० गते बेपत्ता भएका भनिएका भिम बहादुरको भदौ १४ गते घर नजिकैको भिरमा शव फेला परेको थियो । सुरुमा भिम बहादुरकी श्रीमती अञ्जनाले श्रीमान बेपत्ता भएको भनेर गाउँले सबैलाई खोजि गरिदिन आग्रह गरेकी थिइन ।
अञ्जनाको आग्रह पछि गाउँलेले खोजि गर्दा भिम बहादुरको शव घरबाट करिब २ सय मिटरको दुरिमा रहेको भिरमुनि खसेको अवस्थामा भेटाएका थिए । भिमबहादुरको शव सडेगलेको अवस्थामा शव भेटाएपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले भिमबहादुरको हत्या नै भएको अड्कल काटे पनि श्रीमतिले नै हत्या गरेको भन्ने कुरा शंकाकै रुपमा थियो । अनुसन्धानलाई प्रहरीले आफ्नै ढंगले अगाडी बढाईरहेको बेला भदौ १७ गते बाँफीकोटको छिनखेत प्रहरी चौकीका असइ बालकृष्ण खड्कालाई श्रीमतीले हत्या गरेको हुन सक्ने भन्दै फोन गरेर जानकारी दिएपछि भिम बहादुरकी २२ बर्षकी श्रीमती अन्जना पुन बुढालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछी अञ्जना बुढाले गत भदौ १० गते राति घरमै ३६ वर्षीय श्रीमान् भीमबहादुर बुढालाई लाठीले निर्घात कुटपीट गरेर हत्या गरी शवलाई डोकोमा बोकेर भीरबाट फालेको स्वीकार गरेकी छन् ।
गाउँका अत्यन्तै मिलनसार, सहयोगी भिम बहादुरको हत्याको बिषयले गाउँ र उनका साथी भाइहरु स्तब्ध भएका छन । आफ्नै श्रीमानको निर्मम तरिकाले हत्या कसरी र किन गरिन भन्ने बिषय पनि सबैलाई चासो बनेको छ । उता प्रहरीले अनुसन्धान प्रक्रिया टुंग्याएर बिहिवार नै मुद्दा दर्ता गरेको छ । भिम बहादुर नेपाली सेनामा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले भनेका छन्–‘हामीले घटनाको थप अनुसन्धान गरिरहेका छौ, कर्तव्य ज्यान मुद्दा दर्ता पनि भइसकेको छ ।’ डिएसपी केसीका अनुसार निजलाई कर्तव्य जान अन्तर्गत मुद्दा दर्ता गरि हिरासतमा राखिएको छ ।
स्थानियले दिएको जानकारी अनुसार भदौ १० गते भिम बहादुर साथिहरु सँग हल्का मदिरा सेवन गरि नजिकैको गाउँबाट साँझ करिब ७ बजेको समयमा घरमा पुगेका थिए । उनलाई घरमा छाड्न अन्य २ दुई जना साथीहरू पनि आएका थिए । साथीहरू उनलाई छाडेर घर तर्फ लागे ।
श्रीमती अन्जना घरमा खाना पकाइरहेकी थिइन । त्यत्तिकैमा श्रीमान श्रीमती विच सामान्य भनसुन भयो । ठट्यौली स्वभावका भिम बहादुरले श्रीमतीलाई भाउजू भनेर जिस्काए । श्रीमतीलाई भाउजू भनेपछि अन्जना म त श्रीमती हु किन श्रीमतीलाई भाउजू भनिस भनेर थप आक्रमक बनिन् ।
मदिराले शरीर अड्याउन नसक्ने अवस्थामा रहेका भिम बहादुर र अन्जना बिच लछारपछार सुरु भयो । छिमेकीको घर पनि अलिकति टाढा भएकोले उनीहरुको झगडा कसैलाई थाहा भएन । दुवै जना लडाइँ गर्दै आगनसम्म पुगे । फेरि अन्जनाले भिम बहादुरलाई लछारपछार पार्दै भित्र लगिन ।
त्यतिबेला भिम बहादुरको टाउको सुत्ने खाटको खुट्टामा नराम्रो सँग ठोक्कियो । टाउकोमा गहिरो चोटसँगै रगत बग्न थाल्यो । त्यसैमाथी अन्जनाले घरमा भएको लाठीले थप कुटिन । श्रीमतीको कुटाइ र खाटमा ठोक्किदाको चोटले भिम बहादुर बेहोस भए । करिव राति ९ बजे आसपासमा भिम बहादुरले संसार छाडे ।
भिम बहादुरको निधन भएपछि अन्जनालाई शव व्यवस्थापन गर्न हतारो भयो । भिम बहादुरको शव उनले डोकोमा राखेर घरदेखी करिब २ सय मिटरको दुरीमा रहेको जंगलमा रहेको अप्ठ्यारो भिरमा खसाइन । भिरमा शव खसाएर अन्जनाले घरमा रहेका हत्याका प्रमाण मेटाउन सबै उपायहरू प्रयोग गरिन ।
सुरुमा उनले भिम बहादुर सुत्ने खाट फुकालेर नजिकै एक ठाउँमा हरियो घाँसले पुरिन । अनि खाटको केही भाग घरकै माथिल्लो भागमा लुकाइन । रगतका टाटाहरु सबै मेटाउन घर लिपपोत गरिन । सबै प्रमाण मेट्ने प्रयास पुरा भएपछी उनले छिमेकी, आफन्त सबैलाई श्रीमान हराएकोले खोजि गरिदिन आग्रह गरिन ।
सुरुमा कसैले पनि अन्जनाले हत्या गरेको अनुमान गरेनन्, भिम बहादुरको खोजि तर्फ लागे । १४ गते शव फेला परेपछि शवको पोस्टमार्टम देखि शवको अन्त्येष्टि सबै काम सकियो । त्यसपछि गाउँलेले घरमा अलिकति रगतको टाटा फेला पारे । अनि सुत्ने खाट पनि नदेखेपछि प्रहरीलाई खबर गरे ।
छिनखेत प्रहरी चौकीबाट असइ बालकृष्ण खड्काको टोली घटना स्थालमा पुग्यो र सामान्य केरकार पछि अञ्जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमलाई बुझायो । अहिले उनी अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागी प्रहरी हिरासतमा छिन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्