कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण
कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।
महामन्त्री कोइरालाको रिपोर्ट पोजिटिभ आएको ईपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा (ईडीसीडी) स्रोतले पुष्टि गरेको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनलाई सोमबार साँझदेखि अचानक ज्वरो आएको थियो ।
साँझ ९९.८ डिग्री मात्रै रहेको ज्वरो राति १ सय २ पुगेको उनले बताए । सचिव तिवारीका अनुसार कोइरालाले घरमै आइसोलेसनमा बस्ने जानकारी दिएका छन् । स्वकिय सचिव तिवारीले भने–‘केही समस्या परे अस्पताल जाने नभए होम आइसोलेसनमै बस्ने बताउनुभएको छ ।’
कांग्रेस महाधिवेसनको सरगर्मी सुरु भएपछि उनी अहिले टोखाबाट सरेर महाराजगन्जस्थित निवासमा बस्न थालेका थिए । उनी दैनिक दर्जनौं नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्थे । उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका केही नेता तथा कार्यकर्ताहरुले मंगलबार नै पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना दिइएको पनि बताइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्