सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एसिड आक्रमण गर्नेबिरुद्ध नयाँ कानुन ल्याउँदै सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् । त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र संवद्ध निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा १२ जना एसिड पीडितसँग भेट गरेका थिए । त्यस क्रममा गृहमन्त्री, कानुनमन्त्री, अर्थ र शिक्षा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसमेत सहभागी भएका थिए ।

Kp Sharma Oli

उनले एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने र लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने, नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले गर्ने घोषणा गरेको प्रेस सल्लाहकार थापाले बताएका छन् ।

एसिड पीडितलाई निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने, उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गर्ने आश्वासन पनि दिएका छन् । हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।

सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा एसिड आक्रमणको पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने पनि उनले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्