यौन सम्बन्ध राख्न भन्दै केटा बोलाएर अपहरण
काभ्रेमा एक पुरूषलाई अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले धुलिखेल नगरपालिका–४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीय सविना तामाङ र उमा परियारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएसपी कुमार विक्रम थापाका अनुसार आकाश र सविना बिहीबार पक्राउ परेका थिए भने उमा शुक्रबार पक्राउ परेकी हुन् । यस घटनामा दुई जना अझै फरार छन् ।
उनीहरूले काभ्रे पाँचखाल नगरपालिका–१२ देवभूमि बस्ने २३ वर्षीया एक पुरूषलाई बुधबार ‘अपहरण’ गरेका थिए । शारीरिक सम्बन्ध राख्नका लागि बोलाएपछि ‘अपहरण’ गरेको डिएसपी थापाले बताएका छन् ।

आकाशकी श्रीमती सविना र ती पुरूषको पहिले नै फोनमार्फत् चिनजान भइसकेको थियो । बुधबार भने सबिनाले ती पुरूषलाई शारीरिक सम्बन्ध राख्ने भन्दै भेट्न बोलाए । त्यसपछि उनीहरू धुलिखेलको २८ किलोमा भेटे । भेट भएपछि सबिनाले ती पुरूषलाई जंगलमा लगेकी थिईन ।
डिएसपी थापाले भने–‘उनीहरूले पूर्वयोजना बनाएर शारीरिक सम्बन्ध राख्ने भन्दै बोलाउने अनि लुट्ने गरेको देखियो । उनीहरू जंगलमा बस्ने बित्तिकै आकाश आएर त मेरो श्रीमतीसँग शारीरिक सम्बन्ध राख्ने भन्दै कुटपिट गरेको र पछि ५० हजार मागेका थिए ।’ तर ती पुरूषसँग पैसा नभएपछि कुरा बाहिरिएको डिएसपी थापाले बताएका छन् ।
उनले भने–‘उनीसँग पैसा नभएपछि उनीहरूले बन्धक बनाएर राखे । ती व्यक्तिले अर्कैलाई पैसा मगाएपछि कुरा बाहिरिएको हो ।’ प्रहरीले खबर पाएपछि ती पुरूषलाई बुधबार राति साढे ११ बजे उद्धार गरेको थियो । उनीहरूले अरूलाई ठगेका थिए कि थिएनन् भन्ने खुल्न सकेको छैन ।
उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत काभ्रेले उनीहरूलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्