सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा मेसिनले च्यापिएर नेपाली युवाको मृत्यु

जापानमा एक आल्मोनियम प्रशोधन गर्ने कम्पनीमा काम गर्ने क्रममा मेसिनले च्यापिएर एकजना नेपालीको दुःखद निधन भएको छ । जापानको यामानाशी प्रान्तमा पर्ने फुएफुकी भन्ने ठाउँमा काम गर्दै आएका सन्तोष दाहाल नाम गरेका युवाको फलामको प्रेसर मेसिनले च्यापिएर निधन भएको हो ।

नेपालमा कास्कीको पोखरा–२३, ठुलाखेत स्थायी घर भएका २७ बर्षिय सन्तोष दाहालको कार्यस्थलमै दुर्घटनामा परी सोमबार बिहान करिब ११ बजेतिर मृत्यु भएको बताइएको छ । मृतक सन्तोष बिगत केही बर्षदेखी यामानाशी प्रान्तको फुएफुकीमा रहेको एसुवाई सेकी नामक आल्मुनियम प्रशोधन गर्ने कम्पनीमा काम गर्दै आएका थिए ।

Santosh Dahal death in Japan

जाापनी सञ्चार माध्यमहरुले समाचारमा उल्लेख गरे अनुसार मृतक दाहालको फलामको प्रेसर मेसिन र अर्को मेसिनको बिचमा टाउको च्यापिएको थियो । संगै काम गर्ने कामदारले देखेर तत्काल एम्बुलेन्स बोलाएर हस्पिटल पुर्याइएको थियो । यद्यपी उनलाई हस्पिटलले मृत घोषणा गरेको बताइएको छ ।

मृतक सन्तोष दाहाल श्रीमती र भर्खरै १ बर्ष पुगेकी छोरीको साथमा जापान बस्दै आएका थिए । मृतक दाहालको पोष्टमार्टम भइसकेको छ । काम गर्ने क्रममै मृत्यु भएको हुँदा जापानको श्रम कानुन अनुसार कम्पनीको तर्फबाट गरिनुपर्ने क्षतिपुर्ति लगायतका सबै प्रक्रियाहरु हुनेछन् । नेपालीहरुको न्युन बसोबास रहेका कारण नेपाली समुदायसंगको समन्वय हुन नसकेको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्