सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा जम्दै नेपालीहरुद्वारा सञ्चालित कम्पनी

विगत लामो समयदेखि जापानमा कामदारहरूको आपूर्ति र व्यवस्थापन गर्दै आएको नेपालीहरूको कम्पनी एसएमएस कर्पोरेसनले पछिल्लो समय आफ्नो व्यवसायलाई थप विस्तार गरेको छ । यसअघि हाकेनमार्फत बिभिन्न कम्पनीहरुमा कामदारको आपुर्ति गर्दै आएकोमा बदलिँदो परिवेशसंगै आफ्नो व्यवसायिक क्षेत्रलाई थप विस्तार गरेको कम्पनी सञ्चालहरुले बताएका छन् ।

सोही योजना अन्र्तगत एसएमएस कर्पोरेशनले तोचीगी प्रान्तको तोचिगी सहरमा केही अपार्टमेन्टहरु खरीद गर्नुका साथै निर्माण कार्य समेत सुरु गरिसकेको छ । एसएमएस कर्पोरेशनले हालसम्म २ तल्ला र ३ तल्लाका जम्मा २९ वटा फल्याट् खरिद तथा निर्माण कार्य अगाडी बढाएको छ ।

Nepali in japan

कामदारको चाप र माग अनुसार भविष्यमा थप अपार्टमेन्ट निर्माण तथा खरिद कार्य बढाउँदै लैजाने कम्पनीको उद्देश्य रहेको कम्पनीका सञ्चालक एवंम सिईओ महेश लुइटेलले बताएका छन् । हाल एसएमएस कर्पोरेसनले जापानमा बस्दै आएका बिभिन्न २७ वटा भन्दा धेरै मुलुकका विदेशी र जापानी नागरिकहरुलाई समेत काममा लगाउँदै आईरहेको छ । जसमा नेपालीहरूको संख्या पनि उल्लेख्य रहेको छ ।

जापानमा अपार्टमेन्ट लिन जमानी (होस्योनिन) चाहिने र सुरुमा धेरै रकम अपार्टमेन्ट एजेन्सीलाई बुझाउनुपर्ने लगायतका बिबिध समस्याले कामदारलाई अपार्टमेन्ट लिन झन्झट हुने भएकाले उनीहरुको बसाई र व्यवस्थापनलाई सहज बनाउन अपार्टमेन्ट व्यवसाय सुरु गरिएको सञ्चालक सुरेन्द्र अधिकारीले प्रस्ट्याएका छन् ।

विशेष गरेर जापान भित्रिएका आफ्ना कामदार तथा अन्य विदेशीहरूलाई सहज रुपमा अपार्टमेन्ट उपलब्ध गराउनको लागी अपार्टमेन्ट खरिद तथा निर्माण कार्य सुरु गरेको एसएमएस कर्पोरेशनले जनाएको छ ।

एसएमएस कर्पोरेशनले हाल कामदारहरुलाई बस्ने अपार्टमेन्ट, काममा जान आउनको लागि यातायातको व्यवस्था साथै विदेशीहरुलाई जापानी भाषाको सहजीकरण आदि कुराहरूको व्यवस्थापन पनि गर्दै आइरहेको छ । कम्पनीको संचालक समुहमा सुरेन्द्र अधिकारी (ताप्लेजुङ्ग), महेश लुइटेल (काभ्रे) र श्याम खड्का (भक्तपुर) रहेका छन ।

कर्पोरेशनले तोचिगी प्रान्त, इबाराकी प्रान्त र गुन्मा प्रान्तलाई आफ्नो मुख्य व्यापारिक आधारक्षेत्र बनाउँदै आएको छ । कर्पोरेशनले जापान सरकारको स्वीकृति लिएर अहिले तोकुतेई गीनोउ भिषामा विदेशबाट पनि कामदारहरु भित्राउन थालेको छ । विशेष गरेर एसएमएस कर्पोरेशनले खाद्य उद्योग तथा अन्य क्षेत्रमा भियतनामबाट सयौंको संख्यामा कामदारहरु भित्र्याईरहेको छ ।

नेपाल सरकारको अस्पष्ट कानुन र ढिलासुस्तीले तोकुतेई गीनोउ भिसामा नेपाली कामदार लैजान जापानका कम्पनी तथा रोजगार एजेन्सीलाई अफ्ठ्यारो भएको कम्पनीका सञ्चालक श्याम खड्काले बताएका छन् । नेपाल सरकारले छिटो भन्दा छिटो स्पष्ट मार्गचित्र र योजना बनाएर जतिसक्यो धेरै नेपाली कामदार जापान पठाई नेपालले लाभ लिनुपर्नेमा सञ्चालक खड्काको जोड रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्