सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सोलुखोला हाईड्रो परिक्षण गर्दा २ इन्जिनियरको मृत्यु

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप बिस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने परियोजना व्यवस्थापक गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो । घटनामा परी जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको उक्त परियोजना निर्माणको जिम्मा पाएको सिई कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर गंगेश कर्णले बताएका छन् ।

Solukhola hydro power

म्यानेजर कर्णले भनेका छन्–‘इन्जिनियरको टिम दिनभरि नै परीक्षणको क्रममा थियो । पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुट्टिएपछि दुर्घटना भयो ।’

पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो । अस्पताल पुरÞ्याउनासाथ चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताएका छन् ।

घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर नै गम्भीर घाइते भएका छन् । विराटनगर निवासी घाइते मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । कम्मरमुनिको भाग चल्न नसक्ने अवस्थाका उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्