सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपाली दुतावासबाट हटे भारतीय सुरक्षाकर्मी

नयाँदिल्लीस्थित नेपाली दूतावास परिसरमा वर्षौंदेखि खटिएका भारतीय सुरक्षाकर्मी हटेका छन् । दूतावासको लगातार आग्रहपछि भारत सरकारले उनीहरूलाई हटाएको हो ।

विदेशी राष्ट्रको दूतावासभित्र सम्बन्धित देशबाहेकका सुरक्षाकर्मी बस्नु कूटनीतिक मर्यादाविपरीत भए पनि नयाँदिल्लीस्थित नेपाली दूतावासभित्रै १० जना भारतीय सुरक्षाकर्मी बस्दै आएका थिए ।

सिक्किम प्रहरीबाट दूतावासको सुरक्षार्थ भनेर सानो ब्यारेक निर्माण गरेर उनीहरूलाई खटाइएको थियो । दूतावासका एक कर्मचारीले भने–‘६ वर्षअघि दीपकुमार उपाध्याय राजदूत भएर आएका बेला सुरक्षाकर्मी भित्रै आएर बस्न थालेका हुन् ।’

नीलाम्बर आचार्यले आफू राजदूत भएर आएपछि सुरक्षाकर्मी हटाउन परराष्ट्रका अधिकारीलाई मौखिक रूपमा पटकपटक आग्रह गरेका थिए । उनले फर्कनु तीन महिनाअघि भारतीय विदेश मन्त्रालयलाई पत्र नै लेखेर दूतावासभित्रबाट सुरक्षाकर्मी हटाउन माग गरेका थिए ।

Nepal embassy india

‘नीलाम्बर सरले भारतीय सुरक्षाकर्मीलाई दूतावास परिसरभित्र खेल्न र दौडिन रोक लगाउनुभएको थियो । उहाँ उनीहरूलाई हटाउनुपर्ने पक्षमा अडिग हुनुहुन्थ्यो,’ दूतावासका एक अधिकारीले भने, ‘उहाँको प्रयास बल्ल सार्थक भएको छ ।’ अहिले दूतावासको बाहिरी भागमा भारतीय सुरक्षाकर्मीको अर्को टोलीले गस्ती गर्छ ।

दूतावासको बाहिरी भागको सम्पूर्ण सुरक्षा त्यही देशबाट हुने गरे पनि भित्री क्षेत्रको रेखदेख र सुरक्षाको जिम्मेवारी दूतावास राख्ने मुलुककै हुने गर्छ । दूतावासमा नेपाल प्रहरीबाट एसएसपीको एउटा दरबन्दी छ । त्यसबाहेक नेपाल प्रहरीको अन्य जनशक्ति छैन ।

ठूलो क्षेत्रमा फैलिएको दिल्ली दूतावासको आन्तरिक सुरक्षाका लागि नेपाल प्रहरीकै केही जवानको दरबन्दी सिर्जना गर्न जरुरी रहेको दूतावासमा काम गरेर फर्किएका एक सुरक्षा अधिकारीले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS