सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

६० बर्षपछी लिपुलेक–लिम्पियाधुरामा जनगणना

नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा बुधबार मात्रै तथ्यांक विभागले सार्वजनिक गरेको छ । जनगणनाको नयाँ तथ्यांकसंगै नेपालको नयाँ तथ्यहरु पनि सार्बजनिक भएका छन् । नेपालको जनगणनामा लिपुलेक–लिम्पियाधुराको जनसंख्या पनि समेटिएको छ ।

बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो । जनगणनाको अर्को तथ्य पुरुष भन्दा महिलाको जनसंख्या ६ लाखले बढी छ ।

नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो वि.स. १९९८ पछिको सबैभन्दा न्यून बृद्धिदर हो । १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्या बढेको छ । वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यो पहिलो पटक हो ।

Nepal Map

नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ । नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको तथ्यांकले देखाएको छ ।

नेपालको अहिलेको जनगणनामा भारतको नियन्त्रणमा रहेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुराको जनसंख्या पनि समेटिएको विभागले जनाएको छ । प्रत्यक्ष रूपमा गणकहरू लिपुलेक, लिम्पियाधुरामा पुग्न नसके पनि अप्रत्यक्ष विधि प्रयोग गरेर जनगणना गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार लिपुलेक, लिम्पियाधुराको जनसंख्या अन्तिम परिणाममा समावेश हुनेछ । यसअघि २०१८ सालको जनगणनामा पनि लिपुलेक, लिम्पियाधुराको जनसंख्या समावेश गरिएको थियो । त्यसपछि उक्त क्षेत्रमा भारतीय सेना आएर बसेपछि नेपालले जनगणना गर्न सकेको थिएन ।

केपि ओली सरकारका पाला वि.स. २०७७ जेठमा नेपालले लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सा जारी भएपछि गरिएको पहिलो जनगणनामा लिपुलेक, लिम्पियाधुराको जनसंख्या पनि समावेश गरिएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्