आगामी जेठमा स्थानीय तहको चुनाव गर्ने सहमती
निर्वाचनको मिति संविधानमा व्यवस्था भएको भन्दा पछी सार्ने चर्चा परिचर्चाका बिच अन्तत; सत्ता गठबन्धन सम्बद्ध दलहरुले ०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् । शनिवार बिहान भएको सत्ता गठबन्धन सम्बद्ध दलको बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको स्थानीय तहको निर्वाचन सम्बन्धी प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् ।
त्यसबारे पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको थियो । बैठकमा ०७९ सालको जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
नेता श्रेष्ठले भनेका छन्–‘जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको छ । अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्छ । त्यसका लागि संविधान र ऐनमा आवश्यक संशोधन गर्ने र निर्वाचनको तयारी अघि बढाउने सहमति भएको छ ।’
यसअघि गठबन्धनले असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने गरी छलफल चलाउँदै आएको थियो । तर, शनिबार बिहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल स्थानीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए । निर्वाचन आयोगले यसअघि नै वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ । तर, आयोगको प्रस्ताव विपरीत गठबन्धनले निर्वाचन सार्ने प्रपञ्च रचेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री देउवाले गठबन्धनको बैठकमा जेठमै निर्वाचन गर्ने सहमति जुटाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बिहीबार देउवासँगको भेटमा लिखित रुपमै स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् । पार्टीभित्रैबाट र चौतर्फी दबाबमा परेका देउवाले शुक्रबार मात्रै पार्टीका पदाधिकारीहरुसँग छलफलपछि स्थानीय निर्वाचन जेठभित्रै गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।
संविधानले स्थानीय तहका जनप्रतिनिधिको पदावधि ५ वर्षको हुने व्यवस्था गरेको छ । तर, ऐनको व्यवस्था बमोजिम आगामी जेठ ५ गते स्थानीय तह जनप्रतिनिधि विहीन हुनेछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्