सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा गाडीको ठक्करबाट नेपालीको मृत्यु

जापानमा गाडीको ठक्करबाट एक नेपाली महिलाको ज्यान गएको छ । नेपालमा गुल्मी घर भई हाल जापानको टोकियोस्थित ओताकु सिटीको सान्नोमा बस्ने महिलाको शुक्रबार बिहानै गाडीले ठक्कर दिँदा ज्यान गएको हो ।

शुक्रबार बिहान ७ः३० बजेतिर साइकलमा काममा जाँदै गर्दा उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । मृतक महिलाको गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल मृतक महिलाले काम गर्ने कम्पनीबाट दुई तिन सय मिटरको दुरीमा रहेको बताइएको छ ।

मृतक महिलाले जेब्रा क्रस गर्दै गर्दा गाडीले ठक्कर दिएको उनका आफन्तले बताएका छन् । जेब्रा क्रस भएको ठाउँमा ट्राफीक बत्ती नभएको र तिब्र गतिमा आएको गाडीले ठक्कर दिएको बताइएको छ । मृतक महिलालाई ठक्कर दिने गाडीका चालक पुरुषलाई प्रहरीले हिरासतमा लिएको छ ।

मृतक महिलालाई ठक्कर दिने गाडी चालकका परिवार र विमा कम्पनीका प्रतिनिधी मृतक महिलाको परिवारसंग सम्पर्कमा रहेको र क्षतिपुर्ति तथा अन्य कानुनी प्रक्रियाको बारेमा कुराकानी भईरहेको बताइएको छ ।

मृतक महिलाको उमेर ३० बर्षको भएको बताइएको छ । उनी श्रीमानसंगै जापानमा बस्दै आएकी थिईन । उनको नेपालमा ७ बर्षिय एक छोरी रहेकी छिन् । मृतक महिलाको जापानमा नै अन्तिम संस्कार गरिने भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्