सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अब २० तलामा आगो लागे पनि निभाउने दमकल

काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ ।

महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र खरिद गरेको हो । वारुणयन्त्रभित्र पानी र फर्मको फरक–फरक भण्डारण गर्ने क्षमता छ ।

जर्मन प्रविधिमा आधारित इन्डोनेसियामा बनेको जिङ्गर कम्पनीको वारुणयन्त्रमा तीन हजार लिटर क्षमताको पानी र एक हजार पाँच सय लिटर क्षमताको फर्म भण्डारण गर्न सकिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिएका छन् ।

fire brigade

ढुवानीबाहेक दुई लाख अमेरिकी डलरमा खरिद गरिएको वारुणयन्त्रले कम्तीमा ६० मिटरमाथिसम्म लागेको आगो निभाउन सक्नेछ । प्रवक्ता डङ्गोलले भने–“वारुणयन्त्रले कम्तीमा २० तल्लासम्म लागेको आगो निभाउन सक्छ ।”

यसअघि काठमाडौँ उपत्यकामा रहेका वारुणयन्त्रले आठ तलासम्म लागेको आगो मात्रै निभाउन सक्ने क्षमता थियो । हाल काठमाडौँ महानगरपालिकाअन्तर्गत चारवटा वारुणयन्त्र रहेका छन् । नयाँ वारुणयन्त्र काठमाडौँ उपत्यकामा रहेका साँघुरा सडकमा समेत जान सक्ने मोडलका रहेको दाबी गरिएको छ ।

साँघुरा सडक भएर आगो निभाउन जान समस्या भोगिरहेको कुरालाई ध्यानमा राखेर वारुणयन्त्रको मोडल रोजेको डङ्गोलले बताएका छन् । उनले महानगरले ठूला र अग्ला भवन बनाउन स्वीकृति दिएसँगै त्यहाँ हुन सक्ने जोखिमलाई ध्यानमा राखेर वारुणयन्त्र खरिद गरेको बताएका छन् ।

काठमाडौँ महानगरपालिकाको चौथो नगर सभाले तीन वर्षअघि महानगर सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन, २०७५ पारित गरेसँगै दमकल किन्ने बाटो खुला भएको थियो । सोही नगर सभाले वारुणयन्त्र खरिद गर्न १३ करोड रुपियाँ बजेट पनि विनियोजन गरेको थियो ।

काठमाडौँको वसन्तपुरमा रहेको जुद्धमा वारुणयन्त्रमा करिब एक सय फिट (आठ तला) भन्दा अग्लो भवनमा आगलागी भएमा नियन्त्रण गर्ने उपकरण नभएको अवस्थामा महानगरले ल्याउने नयाँ वारुणयन्त्रले धेरै सहज हुने अपेक्षा गरिएको छ । अग्लो भवनमा आगो लागेको हेर्नुको विकल्प नहुने अवस्थामा नयाँ सुविधा सम्पन्न वारुणयन्त्र आउने कुराले आफूहरू हौसिएको जुद्ध वारुणयन्त्र वसन्तपुर काठमाडौँका प्रमुख चन्दन श्रेष्ठ बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्