सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रहरी आईजीपीमा धीरजप्रताप सिंह बढुवा

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

सिंह २०४९ चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना हुँदा पहिलो नम्बरमा थिए । डीएसपीमा बढुवा हुँदा पनि उनी पहिलो नम्बरमै बढुवा भएका थिए । त्यसपछि भने राजनीतिक पहुँचको प्रभावमा सिंहको ब्याचका कहिले को कहिले को अगाडि पुगेका थिए ।

वि.स. २०६२ जेठ २२ मा डीएसपी भएका सिंह २०६९ माघ ११ गते एसपीमा बढुवा हुँदा दोश्रो नम्बरमा झरेका थिए । त्यतिबेला पहिलो नम्बरमा उत्तमराज सुवेदी थिए । तर यही ब्याचका एसएसपी बढुवामा भने झनै उथलपुथल भएको थियो ।

Nepal Police IGP

सधैँ पाँचौं नम्बरमा रहेका विश्वराज पोख्रेल आफूभन्दा अघिल्लो ब्याचलाई समेत उछिन्दै एसएसपीमा बढुवा भएका थिए । एकब्याच अगाडिका शैलेश थापाको ब्याचलाई समेत उछिनेका पोख्रेललाई सरकारले एसएसपीपछि पनि वरियता मिच्दै डीआईजीमा बढुवा गरेको थियो ।

पोख्रेलको अप्रत्यासित छलाङले प्रहरीभित्र ठूलो असन्तुष्टि जन्माएको थियो । उनकै ब्याची र अघिल्लो ब्याची समेत उनीसँग रुष्ट बनेका थिए । त्यसपछि पनि सत्ताको आडमा पोख्रेल वरियता मिच्दै अगाडि बढ्ने क्रम रोकिएन ।

एमाले सत्तामा हुँदा शैलेश थापा नभएर आफैँ आईजीपी हुनुपर्छ भनेर लागेका पोख्रेलले एआईजी बढुवामा प्रद्युम्न कार्की र निरज शाहीलाई रोकेर आफ्ना लागि राजनीतिक शक्तिलाई भिडाएका थिए ।

एमाले सत्तामा हुँदा उनी उपप्रधानमन्त्री ईश्वर पोख्रेलको शक्तिको आडमा अगाडी बढेका थिए । डेढ वर्ष पहिले नै एआईजी भएका पोख्रेल त्यतिबेलासम्म आईजीपी हुनेमा ढुक्क थिए ।

तर सरकारले सहकुल थापालाई पनि उनलाई जस्तै गरी अगाडि बढाएपछि पोख्रेलको विकल्प तयार भएको थियो । तर देउवाको नेतृत्वमा सरकार बनेसँगै प्रहरी नेतृत्वमा पुग्ने उनको सपना दूर बन्दै गयो ।

अन्ततः पहिलो नम्बरमा भर्ती भएका सिंह नै आईजीपीमा नियुक्त भएका हुन् । आईजीपीका लागि सिंहकै ब्याचका विश्वराज पोख्रेल, सहकुल बहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रतिस्पर्धामा थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्