सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ओकिनावामा नेपाली विद्यार्थीको असामयिक निधन

जापानमा एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ । विद्यार्थी भिसामा जापान आएर ओकिनावामा पढ्दै आएका खिम बुढामगरको असामयिक निधन भएको छ । जापानले गएको वर्ष कोरोना भाइरसको महामारीका कारण सीमामा प्रतिबन्धहरु खुकुलो बनाएपछि बुढामगर जापान पढ्न भनेर आएका थिए । उनको स्थायी घर दाङ जिल्लाको तुल्सीपूर भएको बताइएको छ ।

उनी जापानी भाषा विद्यालयमा पढ्दै थिए । बुढामगर उनी बस्ने गरेको होस्टेलमा मृत अवस्थामा भेटिएका छन् । घटनाको प्रकृति हेर्दा उनले आफैँले आफ्नो जिन्दगी समाप्त पारेको जस्तो देखिएको छ । बुढामगरको शब प्रहरीकहाँ भएको र उनको मृत्युबारे छानबिन भइरहेको छ । उनको पोष्ट मर्टमको रिपोर्ट आउन एक साता जति लाग्ने बताइएको छ ।

उनको मृत्युबारे नेपालस्थित उनका परिवारका सदस्यहरुलाई जानकारी गराइएको छ । परिवारको सल्लाहमा उनको अन्तिम संस्कार गरिनेछ । पछिल्लो समय जापानमा नेपालीहरुको मृत्युको घटनाहरु बढेका छन् । प्राकृतिक कारण वा रोगका कारण भन्दा पनि आफैंले आफ्नो ज्यान लिने प्रवृत्ति बढेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्