सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बैशाख १८ बाट तातोपानी नाका खोल्ने सहमति

वि.स. २०७२ सालको विनाशकारी भूकम्पले गएको सात वर्षदेखि मालवाहक रुपमा सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो ।

नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार यस छलफलमा चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न वैशाख १८ (मे १) बाट नाका खोल्नेसहित ६ बुँदे मौखिक निर्णय भएको हो ।

‘सीमा सुरक्षाबीच ‘क्रस बोर्डर क्राइम ’लाई लिएर पर्याप्त छलफलबीच मे १ बाट नाकाबाट निकासी खोल्ने र अन्य व्यवस्थापन र अपराध नियन्त्रणबारे छलफल र मौखिक सहमति भएको छ, ’ प्रजिअ न्यौपानेले भने । यसअघि दुई पटक क्रमशः फागुन ४ र चैत ६ गते नेपालबाट जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकाय लगायतका अधिकारीबीच बैठक सम्पन्न भएको थियो ।

त्यतिखेर मितेरी पुल र खासाकै भवनमा सीमा सुरक्षाको विषयमा ‘काउन्टर पार्ट मिटिङ’ बस्दा चीन पक्ष नाका खोल्न सकारात्मक देखिएर सल्लाह सुझाव मागेका थिए । मंगलबारको ‘काउन्टर पार्ट मिटिङ’मा सीमाबाट निर्यातसहित कोभिड १९ सावधानी अपनाउने सूचना सप्रेषण, अन्तरदेशीय सीमा नाका सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र न्यूनीकरण संवेदनशील रहेर गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता मुख्य विषय थिए ।

चीन पक्षका अधिकारीले निकासी वस्तुको जाँच गर्न खासाको रमितेमा निकासी घर, भवन, अन्य पूर्वाधार संरचना निमार्णाधीन रहेको जानकारी दिएका थिए । बैठकमा नेपालबाट प्रजिअ न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेर छलफल अघि बढाएका थिए ।

बैठकमा सीमा सुरक्षा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक रवि केसी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा थिए । चीनबाट बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङ,सहायक प्रमुख युन डान, न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यान, न्यालम कानुन तथा अनुसन्धान प्रमुख जिया सी डुनझुललगायतका अन्य अधिकारी सहभागी थिए ।

१५ चैतमा तिब्बतको ल्हासामा सम्पन्न भएको संयन्त्रको बैठकमा उत्तरी नाका रसुवागढी र तातोपानी पूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको थियो । त्यस सहमतिपछि केही समयमै उत्तरी केरुङ नाका पूर्णरुपमा सञ्चालनमा आइरहँदा चैत २८ मा भौतिक पूर्वाधार निर्माणमा नापतौल काटा राखिने भन्दै तातोपानी एक साताको लागि चीनले बन्द गर्‍यो । केरुङ पूर्णरुपमा खुलिरहँदा तातोपानीबाट निर्यात मात्रै खुल्ने मौखिक सहमति भएपछि यहाँका स्थानीय निराश देखिएका छन् ।

नाकाबाट निर्यात खुल्ने सहमति भए पनि तातोपानीमा भौतिक पूर्वाधार तैयारी देखिँदैन । चिनियाँ कम्पनीले बनाइदिएका अत्याधुनिक मितेरी पुल र तातोपानी सुक्खा बन्दरगाहबाहेक अन्य अध्यागमन,गेट, सुरक्षा पोष्टजस्ता महत्त्वपूर्ण सबै टहरा, जिर्ण भवनमा चलाइएका छन् । सीमा जोड्ने कोदारी राजमार्ग २६ किलोमिटर अझै क्षतिग्रस्त हुँदा कन्टेनरलाई धराप थापेझैं अवस्था छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS