सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तनहुँ १ मा उपनिर्वाचनका लागि मतदान सुरु

तनहुँ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन गरिएको हो ।

२ नगरपालिका र ३ गाउँपालिका रहेको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि ६९ मतदान स्थलमा १५२ मतदान केन्द्र कायम गरिएको छ । उपनिर्वाचन सम्पन्न गर्नका लागि ७६० जना कर्मचारी खटिएका छन् ।

गत मंसिर ४ गतेको निर्वाचनमा तनहुँ १ मा १ लाख २३ हजार ४९० मतदाता रहेकोमा उपनिर्वाचनका लागि १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् । मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइँसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मंसिर ४ गतेको निर्वाचनमा ६६ हजार २६५ मत खसेको थियो ।

उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । १३ वटा वडा रहेको भानु नगरपालिकाको २१ मतदानस्थलको ५० मतदान केन्द्रबाट ४० हजार ८४४ मतदाता सहभागी हुँदै छन् । देवघाट गाउँपालिकामा कम मतदाता रहेका छन् । ५ वडा रहेको यस गाउँपालिकामा १२ हजार ७१२ मतदाताका लागि ८ मतदानस्थलमा १५ मतदान केन्द्र कायम गरिएको छ ।

यस्तै आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडाका ९ मतदानस्थलमा १७ मतदान केन्द्रबाट १३ हजार ६२२ मतदाता सहभागी हुँदै छन् । बन्दीपुर गाउँपालिकाका ६ वटा वडाका १५ हजार ६७८ मतदाताका लागि ११ मतदानस्थलमा २२ मतदान केन्द्र कायम गरिएको छ । व्यास नगरपालिकाका वडा नं. ५ र ६ बाहेकका १२ वटा वडामा ४० हजार ४४९ मतदाता रहेका छन् । यी मतदातालाई २० मतदानस्थलमा ४८ मतदान केन्द्र कायम गरिएको छ ।

उपनिर्वाचनका लागि विभिन्न ९ राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । तनहुँ १ को उपनिर्वाचनमा अहिले मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भइरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्