सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
पाण्डेले शपथ भने शुक्रबार मात्र लिनेछन् । कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशम जुग्जालीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते प्रदेशसभामा परीक्षण गर्दा विश्वासको मत पाउन सकेनन् ।
संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम बमोजिम नै बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो । कानुनी परामर्शपछि सरकार ढलेको ३ दिनपछिमात्र प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम नै बहुमतको सरकार गर्न आह्वान गरेका थिए ।
मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस–माओवादीसहितको गठबन्धन यो प्रदेशसभाको अवधिभर रहने बताएका हुन् । ‘यो गठबन्धन प्रदेशसभाको अवधि जति छ, त्यति नै जान्छ’ पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले भने ।
सरकारको नेतृत्वमा भने आलोपालो हुने मुख्यमन्त्री पाण्डेले बताए । अब छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि पाण्डेले बताए ।
प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने विषयमा ध्यान दिने पनि उनले बताए । ‘हाम्रो प्रदेशलाई हामी आफैं कसरी सस्टेन गर्न सक्छौं, त्यतातिर ध्यान दिन्छौं । पर्यटन, जलविद्युत र कृषि क्षेत्र प्राथमिकता दिन्छौं’ उनले भने, ‘कृषिमा आधारित रहेर स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने विषयमा ध्यान दिन्छौं ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्