सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानी परराष्ट्रमन्त्री खामिखावाको नेपाल भ्रमण

जापानी परराष्ट्रमन्त्री खामिखावा योकोले आगामी मे महिनामा नेपालको भ्रमण गर्ने भएकी छन् । जापानको विदेश मन्त्रालयले अप्रिल २६ तारिखमा एक सूचना जारी गर्दै परराष्ट्रमन्त्री खामिखावाले आगामी मे ५ तारिखमा नेपालको भ्रमण गर्ने जानकारी दिएको छ ।

अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ तारिख श्रीलंकाको राजधानी कोलम्बो पुग्ने कार्यतालिका रहेको छ ।

श्रीलंकामा एक दिन बिताएपश्चात ५ तारिख नेपालको राजधानी काठमाडौंमा अवतरण गर्ने विदेश मन्त्रालयको सूचनामा उल्लेख छ ।

Japanese foreign minister

काठमाडौंमा रहँदा परराष्ट्रमन्त्री खामिखावाले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भेटका क्रममा नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको र नेपालको विकासका विषयमा कुराकानी हुने जनाइएको छ । साथै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ ।

परराष्ट्रमन्त्री श्रेष्ठसँगको भेटवार्ता लगत्तै परराष्ट्रमन्त्री खामिखावा सोही दिन नेपालको राजधानी काठमाडौंबाट टोकियो फर्कने विदेश मन्त्रालयले जारी गरेको सुचनामा जनाएको छ ।

परराष्ट्रमन्त्री खामिखावाले अप्रिल २६ देखि मे ५ सम्म नेपाल, श्रीलंकासहित मादागास्कार, कोट डी आइवर, नाइजेरिया र फ्रान्सको भ्रमण गर्दै छिन् ।

नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो ।

यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्