सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गुणकारी तरकारी कर्कलो खानुका फाईदा जानौँ !

‘कर्कलो कोक्याउँछ’ भनेको धेरै सुनिन्छ । कोक्याउने भएकाले यसलाई खान निकै सावधानी अपनाउनुपर्ने हुन्छ । कर्कलोको तरकारी भन्ने बित्तिकै कोक्याउने त होला भन्ने धेरैको सोचाइ हुन्छ ।

तर कर्कलो गुणकारी भएकाले यसको तरकारी स्वास्थ्यका लागि लाभदायक हुन्छ । कर्कलो दूधे र पानी गरी दुई प्रकारको हुन्छ । दूधे कर्कलो कोक्याउँदैन भने पानी कर्कलो चाहिं कोक्याउँछ । त्यसैले कसैले यसलाई धेरैले खासै मन पराउँदैनन् ।

एक त कर्कलो मान्छेले विना मेहनत नै पाउँछन् । त्यसैले पनि यसलाई कम महत्व दिएको हुनसक्छ । कर्कलो एकचोटि रोपेपछि विना गोडमेल पनि हुर्किन्छ । कर्कलोको तरकारी नै खाने कमै हुन्छन, तर यसमा शरीरलाई अत्यावश्यक पोषक तत्व पाइन्छ ।

के–के पाइन्छ ?
कर्कलो आइरन र भिटामिन ‘ए’को मुख्य स्रोत हो । यसमा गाढा हरियो रंग हुने भएकाले प्रशस्त मात्रामा आइरन पाइन्छ । यसबाहेक कर्कलोमा क्याल्सियम, भिटामिन डी, पोटासियम, प्रोटिन र फाइबर पोषक तत्व पाइन्छ । जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

कसरी खाने ?
कर्कलोको तरकारी विभिन्न तरिकाले बनाउन सकिन्छ । जस्तै–रसादार झोल, अचार, मस्यौरा तथा अन्य परिकार बनाएर खान सकिन्छ । कर्कलोको परिकारमा कागतीको रस मिसाउँदा स्वाद बढ्नुका साथै कोक्याउने समस्या पनि कम हुन्छ । यसको जरा अर्थात् पिंडालु, डाँठ र पात सबै खान सकिन्छ ।

कर्कलो खासगरी जेठदेखि भदौसम्म पाइन्छ । तर यसलाई सिजनमा मात्र नभई अन्य सिजनमा पनि खान हुने गरी सञ्चय गरेर राख्न सकिन्छ । यसको पातलाई घाममा सुकाएर सञ्चय गरेर राख्न सकिन्छ । कर्कलोको डाँठलाई राम्रोसँग केलाएर घाममा सुकाएर तोरीको तेलमा कागती, मरमसला मोलेर सिसीमा खाँदेर अचार बनाउन सकिन्छ ।

त्यस्तै यसको जरा अर्थात् पिंडालु पनि पोषणयुक्त हुन्छ । यसलाई उसिनेर, तरकारी बनाएर खान सकिन्छ । साथै कर्कलोलाई लामो–लामो टुक्रा पारी घाममा सुकाएर बेमौसममा पनि दालमा मिसाएर खान सकिन्छ ।

कर्कलो खानुका फाइदा
बाहिरका प्याकेटबन्द खानेकुराभन्दा कर्कलो र पिंडालुको तरकारी खानु निकै लाभदायक हुन्छ । कर्कलोमा फाइबरको मात्रा अत्याधिक हुने भएकाले यो सहजै पच्ने, आँखा तेजिलो बनाउने, पाचन पक्रिया बलियो बनाउने, पेट सफा राख्न मद्दत गर्छ । यसको नियमित सेवनले स्वास्थ्यलाई राम्रो गर्छ ।

यसमा प्रशस्त मात्रामा आइरन हुने भएकाले शरीरमा रगतको कमी हुन दिंदैन । जसकारण रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ । गर्भवती महिलालाई पनि कर्कलो प्रभावकारी हुन्छ ।

त्यस्तै पिंडालुमा कम फ्याट, सोडियम र अत्याधिक मात्रामा पोटासियम हुन्छ । जसले तनाव कम गर्न मद्दत गर्छ । पिंडालुमा पाइने फाइबर र पोटासियमले शरीरमा इन्सुलिनको मात्रालाई सन्तुलन राख्न मद्दत गर्छ र रगतमा सुगर लेबल बढ्नबाट रोक्छ । त्यसैले यो मधुमेहको बिरामीलाई रगतमा सुगर नियन्त्रणमा राख्न पिंडालु प्रभावकारी हुन्छ ।

यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेसियम जस्ता पोषक तत्व पाइने भएकाले कर्कलो दूध खुवाउने महिलालाई फाइदाजनक हुन्छ । यसमा भएको फाइबर तौल घटाउन र भिटामिन ‘ए’ले छाला सुन्दर बनाउन उपयोगी हुन्छ ।

कसले खानु हुँदैन ?
कर्कलोमा आइरनको मात्रा बढी हुने भएकाले उच्च रक्तचाप भएकाले नखाँदा उचित हुन्छ । किनकि यसले रक्तचाप बढाउन सक्छ । युरिक एसिडको समस्या भएकाले सन्तुलित मात्रामा पिंडालु खान सक्छन् । तर चिसो लागेमा, एलर्जी भएमा, जोर्नी दुख्ने तथा बाथ रोगको समस्या भएकाले कर्कलो खानु हुँदैन । किनभने यसले दुखाइ झन् बढाउँछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्